काठमाडौं, वैशाख १८ । ट्रिपर व्यवसायीहरुले क्रसर र खानी उद्योग बन्द हुँदा आफूहरुले काम नपाएको भन्दै आन्दोलनको घोषणा गरेका छन् । नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति र बाग्मती ट्रिपर व्यवसायी संघले आज राजधानीमा पत्रकार सम्मेलन गरी सरकारले आफ्ना माग बेवास्ता गरेकाले आउँदो २२ गतेदेखि सशक्त आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
क्रसर र खानी उद्योग बन्द हुँदा त्यसको असर प्रत्यक्ष रुपमा ट्रिपर र ट्रक व्यवसायीमाथि परेको भन्दै उनीहरुले बन्द भएका क्रसर उद्योग पुनः सञ्चालनमा ल्याउन माग गरेका छन् ।
क्रसर उद्योग बन्द हुँदा दुई हजार श्रमिकहरु बेरोजगार र तीनहजार ट्रिपरले काम नपाएको भन्दै उनीहरुले चाँडो उद्योग सञ्चालन गरिनुपर्ने माग गरेका छन् ।
क्रसर उद्योगहरु अव्यवस्थित रुपमा सञ्चालन हुँदा नदीले जमीन कटान गरेको र वातावरण विनास बढाएको भन्दै सरकारले त्यस्ता उद्योगहरुका बारेमा मापदण्ड बनाएर व्यवस्थित गर्न लागेपछि व्यवसायीहरु आन्दोलित भएका हुन् । IMAGEKHABAR