विराटनगर, वैशाख १८ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभासद् र मन्त्री हुने लोभमा चुनाव अघि देशैभरिबाट मान्छेहरु पार्टीका प्रवेश गरेको बताएका छन् ।
आजदेखि विराटनगरमा शुरु भएको पार्टीको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्वोधन गदै उनले सभासद् र मन्त्री भइहाल्छकी भनेर पार्टीमा आएका मान्छेहरु विस्तारै पार्टीबाट बाहिरिन थालेको बताए ।
उनले अब एमाओवादीलाई सच्चा कम्युनिष्ट पार्टीको रुपमा रुपान्तरण गर्ने उद्घोष पनि गरे । केही वर्षदेखि पार्टी जनताको संगठन भन्दा पनि मालिकको संगठनको रुपमा हावी हुदै गएको पनि स्वीकार गरे । कार्यक्रमलाई सम्वोधन गर्दै एमाओवादी नेता डा. बाबुराम भट्टराईले पार्टीलाई समय सापेक्ष वनाउन संगठनमा रुपान्तरण आवश्यक रहेको बताए ।
अब पार्टी पुरानो शैली र तरिकावाट चल्न नसक्ने भन्दै उनले त्यसका लागि संगठनको रुपान्तरण गरिनु पर्नेमा जोड दिए । एक हजारभन्दा बढी प्रतिनिधि सहभागी सम्मेलनको बन्द सत्र वीरेन्द्र सभा गृहमा हुनेछ । बन्द सत्रमा प्रचण्डले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।
नेकपा माओवादीसँग एकता गर्ने, पार्टीलाई बलियो बनाउने संविधानसभा र संसदमा अपनाउने रणनीति लगायतका विषय प्रतिवेदनमा समेटिएको बताइएको छ । अर्कातिर नेता बाबुराम भट्टराइले पनि छुट्टै प्रतिवेदन पेश गर्ने तयारी गरेका छन् । पाँच दिनसम्म चल्ने सम्मेलनले एमाओवादीको नयाँ कार्यनीति तय गर्ने छ । IMAGEKHABAR