काठमाडौं – सरकारले नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको छ।
मन्त्रीपरिषदको शुक्रबार सिंहदरवारमा बसेको बैठकले विशिष्ट नागरिकहरुलाई औषधि उपचारको व्यवस्था गर्ने निर्देशिकाअनुसार बैंककमा उपचाररत एमाले नेता केपी ओलीको स्वास्थ्य उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए।
केही दिन यता स्वास्थ्यमा समस्या देखिएपछि ओलीलाई बुधवार एयर एम्वुलेन्स मार्फत बैंकक लगिएको थियो।
त्यसैगरि सरकारले नेपाली काँग्रेसका नेता एवम् पूर्व मन्त्री गोविन्दराज जोशीलाई एअर एम्बुलेन्सको खर्च र स्वास्थ्य उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग दिने निर्णय गरेको छ। भने अर्का कांग्रेस नेता एवं पूर्व मन्त्री सिद्धराज ओझालाई पनि औषधी उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मन्त्री रिजालले जानकारी दिए। बैठकले दक्षिण एसियाली पर्यटन पूर्वाधार विकासका लागि एसियाली विकास बैंकको दुई अर्ब ९० करोड रुपैयाँ वैदेशिक सहायता लिन स्वीकार गर्ने निर्णय गरेको उनले बताए।
NAGARIKNEWS