नेपालको मौसम केही दिन प्रतिकूल बन्ने

२० बैशाख, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले भारतको विहार क्षेत्रमा न्यून चापीय क्षेत्र विकास भएको र त्यसको प्रभावले नेपालको मौसम केही दिन प्रतिकूल बन्ने जनाएको छ । गए रातिदेखि देशको पूर्वी, मध्य तथा पश्चिमी भेगका हिमाली, पहाडी र तराई क्षेत्रका अधिकांश भागमा वर्षा भएको र मौसममा सुधार आउन तीन-चार दिन लाग्ने महाशाखाका मौसमविद् शान्ति कँडेलले बताए ।
गर्मीको समयमा जमिन तात्दै जाने र त्यसले हावा वायुमण्डलमा सर्दै जाने प्रक्रियालाई न्यून चापीय क्षेत्र भनिन्छ । त्यो बढ्दा मौसममा प्रतिकूल भई हावाहुरी चल्ने, वर्षा हुने र चट्याङ पर्ने गर्छ । मनसुन पूर्वको यो समयमा सामान्य वर्षा भएपनि मौसममा खराबी आएपछि मेघगर्जनसहित हावाहुरी चल्ने गर्दछ ।
महाशाखाले सामान्यतया जुन १० देखि सेप्टेम्वर २३ सम्मको समयावधिलाई मनसुनको समय मानेको छ । काठमाडौँ उपत्यकामा भने शनिबारदेखि बिहान र साँझको मौसममा केही सुधार आउने तर दिउँसो बदली भई वर्षाको क्रम चलिरहने जानकारी पनि उनले दिए । SETOPATI