तयारी पूरा नभएको भन्दै एमालेले महाधिवेशन मिति सार्ने

काठमाडौ, वैशाख २२ – नेकपा  एमाले केन्द्रीय समिति बैठक नवौ महाधिवेशनको मिति परिवर्तनका लागि सोमबार बस्ने भएको छ । अध्यक्ष झलनाथ खनालले महाधिवेशन एक महिना पछि सार्ने प्रस्ताव केन्द्रीय समितिमा लैजाने तयारी गरेका छन् । जेठ २४ देखि ३१ गतेसम्म तय भएको महाधिवेशनको प्राविधिक तयारी पूरा नभएको भन्दै नेताहरूले सार्न लागेका हुन् । अध्यक्षको चीन भ्रमण, नेता ओलीको स्वास्थ्य अवस्थालगायतका कारण पनि मिति सार्न लागिएको नेताहरूले बताए ।
अध्यक्ष खनालले यसअघि नै स्थायी समितिमा महाधिवेशन सार्ने धारणा राखिसकेका छन् । ‘महाधिवेशन समयमै गर्नुपर्छ भन्ने हाम्राे धारणा हो तर अध्यक्षले सार्ने कुरा गर्नुभएको छ, केन्द्रीय समिति बैठकका लागि अन्य केही एजेन्डा तय गरिएका छैनन्,’ प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले भने । एमालेले महाधिवेशन सर्न लागेको यो चौथोपटक हो । विधानअनुसार केन्द्रीय समितिको पाँच वर्षे कार्यकाल गत फागुन १५ बाटै सकिएको छ ।
पछिल्लो पटक महाधिवेशनका लागि मूल राजनीतिक दस्तावेज तयारी, महाधिवेशन स्थल व्यस्थापनलगायतका काम अघि बढिरहेका थिए । भावी नेतृत्वका लागि वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी ओली पक्षबीच वैचारिक र सैद्धान्तिक विषयहरूमा तीव्र धु्रवीकरण भइरहेको छ । एक महिनायता दुवै पक्षका गुट भेलादेखि सैद्धान्तिक वैच्ाारिक विवाद छताछुल्ल भइरहेका छन् ।
महाधिवेशन सार्ने प्रस्ताव अध्यक्ष खनालबाट आए पनि तीनवटै प्रमुख नेताहरूको आन्तरिक स्वार्थ मिलेकाले सबै सहमत छन् । महाधिवेशन सार्दा कार्यकाल बढ्ने स्वार्थ खनालको छ । शक्ति सञ्चय गर्न थप समय पाइने भएकाले वरिष्ठ नेता नेपाल पनि सहमत छन् । संसदीय दलका नेता ओली भने लामो समयदेखि बिरामी छन् । हाल उनको थाइल्यान्डमा उपचार भइरहेको छ । स्वस्थ हुन्जेलसम्म मिति सर्दा आफूलाई फाइदा हुने उनले ठानेका छन् । नेताका स्वार्थ मिलेकाले महाधिवेशन सार्ने कारण चाहिँ प्राविधिक तयारीलाई बताइएको कतिपय नेताको भनाइ छ ।
 
EKANTIPUR
 
प्रकाशित मिति: २०७१ वैशाख २२