वैशाख २४ । थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री यिङ्लक सिनावात्रालाई पदको दुरुपयोग गरेको अभियोगमा प्रधानमन्त्री पद त्याग्न आदेश दिएको छ ।
प्रधानमन्त्री यिङ्लकले राष्ट्रिय सुरक्षा प्रमुख थाविल प्लेन्सरीलाई गैरकानुनी ढंगले सरुवा गरेको पुष्टी गर्दै अदालतले तत्काल पद त्याग्न निर्देशन दिएको हो । यस निर्णयमा संलग्न अरु केही मन्त्रीलाई पनि पदबाट हट्न आदेश दिइएको छ ।
यिङलङको प्रधानमन्त्रीको हैसियत सकियो, अब उनी उक्त पदमा अरु बस्न पाउन्न न्निर्णय सुनाउँदै न्यायाधीशले भनेका छन् ।
हिजो आफ्नो बचाउका लागि अदालतसमक्ष उपस्थित यिङलकले आफ्नो निर्णय गैरकानुनी नरहेको र कुनै अनुचित फाइदा नलिएको जिकिर गरेपनि अदालतले पत्याएन र पद छाड्न आदेश दियो । यिङलकको कार्यशैलीका कारण केही महिनादेखि थाइल्याण्डमा राजनीतिक गतिरोध चर्किएको छ ।
सन् २०१३ मा विपक्षीहरुले उनलाई प्रधानमन्त्रीबाट हटाउन आन्दोलन नै गरेका थिए । आन्दोलन सम्बोधन गर्न गत फेब्रुअरीमा आमनिर्वाचन घोषणा गरेपनि विपक्षीले अस्वीकार गर्दा देशका धेरै भागमा चुनाव हुन सकेन । सन् २०११ मा विपक्षी दल सत्तामा रहँदा नियुक्त गरिएका प्लेन्सरीलाई गैरकानुनी ढंगले सरुवा गरेर पदको दुरुपयोग गरेको आरोप सिनेटरले लगाएकोमा पुष्टि भएपछि यिङ्लकले पद त्याग्नुपर्ने अवस्था सिर्जना भएको छ ।
राष्ट्रिय सुरक्षा प्रमुख थाविल प्लेन्सरीलाई गैरकानुनी ढंगले सरुवा गरेर यिङ्लकको पार्टीले अनुचित फाइदा लिएको आरोप सिनेटरले लगाएका थिए । संवैधानिक अदालतको निर्णयविरुद्ध माथिल्लो अदालतमा पुनरावेदनमा जाने तयारी यिङ्लकको पार्टीले गरेको छ ।
भ्रष्टाचारको आरोपमा यिङ्लककी दाजु थाक्सिन सिनावात्रालाई सन् २००६ मा सैनिक कूमार्फत् अपदस्थ गरिएपछि थाइल्याण्डमा शक्ति संघर्ष चर्कंदै आएको छ । सहरीया उच्च घरानीया थाक्सिनको विरोधमा भएपनि ग्रामीण क्षेत्रका गरीब वर्गमा भने अझै पनि उनको ठूलो पकड रहेको छ । (एजेन्सी)