तम्घास, गुल्मी – २०७१ बैशाख २५ बिहीवार। भारतमा मजदुरी गर्दा चिट्ठामा परेको क्यामरा लिएर फोटो खिच्ने व्यवसाय सुरु गरेका अर्घाखाँचीको भगवती गाबिसका नन्दराम पाण्डे सोही व्यवसायबाटै करोडपति बनेका छन् ।
विसं २०३४ मा भारतमा एक- डेढ सय रूपैयाँ पर्ने रिलवाला क्यामरा हात परेपछि फोटोग्राफर बन्ने सपना बोकेका पाण्डे अहिले गुल्मीको सदरमुकाम तम्घासमा त्यही व्यवसायबाटै करोडौँको मालिक बनेका हुन् ।
भगवती-९ मा जन्मेका ६१ वर्षीय पाण्डेले गुल्मीको सदरमुकाम तम्घासमा उतिबेलैदेखि पाण्डे फोटो स्टुडियो खोलेर व्यवसाय सुरु गरेका थिए ।
करिब ३५ वर्ष पहिले सानो तम्घास बजारमा व्यावयाय चल्ने नचल्ने आशङ्काकैबीचमा फोटो स्टुडियो सञ्चालन गरेका नन्दराम अहिले सफल र उदाहरणीय बनेका छन् ।
पाण्डे फोटो स्टुडियो उहीलेदेखि अहिलेको आधुनिक तम्घाससम्मको चर्चित र लोकप्रिय नाम बनेको छ । क्यामरा पाएपछि करिब दुई वर्ष फोटोग्राफरको काम सिकेका पाण्डे आफै मलिक बन्ने चाहना आएपछि नयाँ स्टुडियो खोलेर आफ्नै व्यवसाय सुरु गरेको बताउँछन् ।
गरे के हुन्न भनेर प्रवासबाट स्वदेश फर्किएका पाण्डेले अहिले तम्घासको व्यस्त बसपार्कमा आफ्नै तीन तले घर बनाएका छन् भने नजिकै घडेरी जोडेका छन् ।
घरको न्यूनतम मूल्य डेढ करोड पर्ने र घडेरी पनि ५० लाखभन्दा बढीको मूल्याङ्कन गर्न सकिने छिमेकी गोपाल भुसाल बताउँछन् । उनले घरको एक सटर र कोठमा फोटो स्टुडियो सञ्चालन गरेका छन् । रासस