कान्तिपुर
विराटनगर, वैशाख २७ – तीन सातादेखि फैलिएको जन्डिसबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । ६ जनाको विराटनगर, १ को भारतीय अस्पतालमा र एकको काठमाडौ उपचारको लागि ल्याइदै गर्दा मृत्यु भएको हो । भारतमा उपचार गराउन गएकाको यकिन तथ्यांक नभएकाले मृतक संख्या अझै बढी हुन सक्ने अनुमान छ । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरी त्यसको पुष्टि गरेको हो ।
महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले प्रकोपबाट स्थानीय नोबेल र विराट अस्पतालमा २/२, ग्रीनक्रसमा १, काठमाडौं मेडिकल कलेज र भारतमा १/१ जनाको मृत्यु भएको जानकारी दिए ।
स्थानीय सरकारी र निजी अस्पतालमा शुक्रबारसम्म १ हजार १ सय २७ जना उपचाररत रहेको जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले बताए । उनका अनुसार काठमाडौं र भारतका विभिन्न सहरमा उपचारका लागि जानेको संख्या निकै छ । प्रकोप नियन्त्रणका लागि बिहीबार आएको डा. मरासिनी नेतृत्वको विशेषज्ञ टोलीले अस्पतालहरूमा पुगेर बिरामीको अवस्थाबारे जानकारी लिएको छ । ‘हेपाटाइटिस ई को भाइरस शरीरमा प्रवेश गरेको १४ देखि ६० दिनसम्म असर गर्ने भएकाले अझै केही दिन बिरामीको चाप रहनेछ,’ मरासिनीले भने । शारीरिक अवस्था कमजोर भएका र गर्भवतीमा बढी संक्रमण फैलिने गरेकोे उनले बताए ।
शुक्रबारमात्र कोसी अञ्चल अस्पतालको बहिरंग विभागमा ४४ जना बिरामी आएको डा. दीपक सिग्देलले जानकारी दिए । उनका अनुसार आईसीयूमा रहेका २ समेत गरी २४ जना भर्ना छन् । नोबेल अस्पतालमा पनि २० जना भर्ना रहेको जनसम्पर्क अधिकारी नारायण दाहालले जनाए । कोसी अञ्चल अस्पतालमा शय्या अभावले बिरामीलाई भर्ना लिन सक्ने अवस्था नरहेको चिकित्सकले बताएका छन् । ‘यसको कुनै विशेष उपचार र खोप छैन,’ मरासिनीले भने, ‘सरसफाइमा ध्यान दिए आफैं निको हुन्छ ।’ सफा हात, पानी र खाना नै प्रकोपबाट बच्ने एकमात्र उपाय भएको उनले बताए । पानीजन्य रोग भएकाले उमालेर प्रयोग गर्न उनले सुझाव दिएका छन् ।
‘ढल मिसिएर खानेपानी दूषित