पर्यटन व्यवसायीले आन्दोलन फिर्ता नलिएसम्म वार्ता नहुने

काठमाडौं, वैशाख २७ – संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भीम आचार्यले पर्यटन व्यवसायीले आन्दोलन फिर्ता नलिएसम्म आफू वार्ताका लागि पनि तयार नभएको बताएका छन् ।
पर्यटन व्यवसायीले अहिले चलाइरहेको आन्दोलन तत्काल स्थगित गर्नुपर्छ, शनिबार रिपोर्टर्स क्लवमा मन्त्री आचार्यले भने, त्यसपछि मात्र वार्ता हुन्छ । आन्दोलन फिर्ता नलिएसम्म वार्ता पनि हुँदैन । उनले आन्दोलनबाट नतर्सने बताउँदै आन्दोलन जारी रहे आफूले पनि आफ्नो काम नरोक्ने बताए ।
‘आन्दोलनले यो भीम आचार्यलाई केही फरक पार्दैन, व्यवसायीले आन्दोलन नरोकेसम्म वार्ता पनि हुँदैन,’ उनले भने । मन्त्री आचार्यले व्यवसायीका माग आफूले पुरा गरेको, छैटौं राष्ट्रिय पर्यटन मेला स्थगित गरिसकेको र सरकारले हदैसम्मको लचकता देखाइसके बताउँदै भने, ‘व्यवसायीले पनि सरकारसँग गरेका प्रतिबद्धता पुरा गर्नुपर्छ । अनी मात्र वार्ताको बातावरण बन्छ ।’
पर्यटन बोर्डमा अराजकता व्यापक छ र आर्थिक हिनामिना भएको रहेछ भने अख्तियारले कारबाही थाल्नुपर्ने र स्वायत्त संस्था भएकाले बोर्डमा आफ्नै किसिमको कानुन लागू हुने बताउँदै भने, ‘पर्यटन बोर्डका कायम मुकायम प्रमुख सुवास निरौलालाई आन्दोलनकारीले भने झैं हटाउन सकिन्न । आन्दोलनकारीले कराएर मात्र समस्या समाधान हुँदैन ।’
मन्त्री आचार्यले क्यासिनो व्यवसायलाई कानुनी दायरामा ल्याउने कोशिस गरेको र क्यसिनो बन्द गर्ने पक्षमा आफू नभएको स्पष्ट पारे । उनले पोखरामा अन्र्तराष्ट्रिय विमानस्थल बनेरै छाडने विश्वास व्यक्त गरे । उनले पाँच वर्षमा २२ वटा जहाज ल्याउने दाबी गरे ।
 EKANTIPUR
प्रकाशित मिति: २०७१ वैशाख २७