वैशाख २८ । युक्रेनको पूर्वी क्षेत्रमा आज जनमत संग्रह हुंदैछ । रुस समर्थित पृथकतावादीहरुले युक्रेनबाट स्वतन्त्र हुने सम्बन्धमा आफु खुशी जनमत संग्रह गर्न लागेका हुन् । रुसी भाषीको बाहुल्य रहेको पूर्वी क्षेत्रका डोनेस्क र लुगान्स्कमा जनमत संग्रह गरिन लागेको हो ।
युक्रेनको कुल जनसंख्या ४ करोड ६० लाख छ भने यी दुई क्षेत्रको जनसंख्या ७३ लाख रहेको छ । जनमत संग्रह पछि यी दुई क्षेत्र रुसमा विलय हुने सम्बन्धमा फेरि अर्को चरणको चुनाव हुने बताइएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जनमत संग्रह रोक्न आग्रह गरेपनि पृथवकतावादीहरुले अस्वीकार गरेका थिए । रुस समर्थित पृथकतावादीहरुले पूर्वी क्षेत्रका अधिकांश भवनहरु कब्जा गरेर बसेका छन् ।
युक्रेन ,अमेरिका यूरोपियन यूनियन लगायतले जनमत संग्रहलाई अवैधानिक र गैरकानुनी भनेका छन् । जनमत संग्रहले पूर्वी क्षेत्रमा आम विनाश निम्त्याउने युक्रेनको ठहर छ । गत मार्चमा युक्रेनको स्वायत्त क्षेत्र क्राइमिया रुसले आफुमा विलय गराएपछि दक्षिण र पूर्वी युक्रेनमा तनाव चुलिँंदो छ । AGENCIES