काठमाडौं, वैशाख २८ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसँग एकता गर्न खोज्दा आफूलाई शान्ति र संविधान विरोधीका रुपमा देखाउन खोजेको गुनासो गरेका छन् ।
पार्टीको राष्ट्रिय सम्मेलनबारे जानकारी दिन पार्टी मूख्यालय कोटेश्वरमा गरिएको पत्रकार सम्मेलनमा उनले वैद्यहरु पनि शान्ति विरोधी नभएको प्रष्टीकरण दिए । वैद्यहरुसँग एकता गर्न शान्ति र संविधान बाहिर जानु नपर्ने उनले प्रष्ट पारे ।
एमाओवादीको महाधिवेशनमा केन्द्रीय समितिका लागि आएको नामावली बाबुराम भट्टराईकै सहमतिमा आएको पनि प्रचण्डले बताए । समितिमा थपिने अरु ५२ जना सदस्यमा भट्टराई पक्षका नेताहरु पनि पर्ने आश्वासन प्रचण्डले दिए ।
पार्टी नेता कार्यकर्तामा आचरणगत विचलन र पारदर्शितामा कमी भएको स्वीकारे । परिवर्तनका एजेण्डालाई पन्छाउन खोजिएको आरोप लगाउँदै उनले यसप्रति सबै पक्ष गम्भीर हुनुपर्ने बताए । सबै मिलेर अघि बढेमात्र शान्ति कायम भई संविधान बन्नेमा उनको जोड थियो । IMAGEKHABAR