नेपाल पत्रकार महासंघको २४औं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रिय समितिद्धारा पदभार ग्रहण

काठमाडौं, वैशाख २८ । नेपाल पत्रकार महासंघको २४औं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रिय समितिले आज पदभार सम्हालेको छ । काठमाडौंको तिलगंगास्थित सञ्चारग्राममा रहेको महासंघको भवनमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष शिव गाउँलेले नवनिर्वाचित अध्यक्ष डा.महेन्द्र विष्टको नेतृत्वको कार्यसमितिलाई पद हस्तान्तरण गरेका हुन ।


कार्यक्रममा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधान लेखन कार्यतालिकामा कुनै फेरबदल नगरेर एक बर्षभित्र संविधान जारी गर्ने बताए । सञ्चारकर्मीलाई संविधानसभाले पदेन सदस्य जस्तै मान्यता दिएर संसदका गतिविधिका समाचार संकलनमा खुला वातावरण सिर्जना गरेको भन्दै अध्यक्ष नेम्वाङले निर्धारित मितिमै संविधान जारी गर्न महासंघको निरन्तर दवाब आवश्यक रहेको औलाए ।


महासंघका निवर्तमान अध्यक्ष शिव गाउँलेले श्रमजीवी पत्रकारको हक हितका लागि महासंघ नयाँ नेतृत्वले खुट्टा कमाउन नहुने धारणा राखे । नवनिर्वाचित अध्यक्ष महेन्द्र विष्टले पनि श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र प्रेस स्वतन्त्रताको ग्यारेण्टी भएको संविधान जारी गर्न महासंघको प्राथमिकता हुने प्रतिबद्धता जनाए । कार्यक्रममा नेपाल पत्रकार महासंघको भवन निर्माणमा सहयोग गर्ने पूर्व अर्थमन्त्री बर्षमान पुनलाई सम्मान गरिएको थियो । IMAGEKHABAR