ठाडा/ सिमलपानी, अर्घाखाँची (२०७१ वैशाख २८ आइतवार) । शिक्षकहरुको लागि खुल्ला दिसामुक्त तथा पूर्ण सरसफाइ सम्बन्धी २ दिने तालिम बैशाख २६ र २७ गते ज्योति उच्च मावि ठाडामा सञ्चालन गरिएको थियो । ठाडा र सिमलपानी गाविसका गरि २४ वटा विद्यालयबाट १४ जना महिला र २० जना पुरुष गरि ३४ जनाको सहभागिता रहेको थियो ।
तालिममा खुल्ला दिसामुक्त अभियानको समिक्षा गरि समुदायमा चर्पी निर्माणमा ढिलाई हुनुका कारणहरु, बिद्यालयमा चर्पी नबन्नु तथा बनेका चर्पी उचित तरिकाले प्रयोगमा आउन नसक्नुका कारणहरु बारे छलफल गरि समाधानका उपायहरुको बारेमा छलफल भएको थियो ।
ठाडा बिद्यालय स्रोकेन्द्रका अध्यक्ष एवं ज्योति उच्च मा विका प्राचार्य शंकर अर्यालको अध्यक्षतामा, ग्लोबल स्यानिटेसन फण्ड यू एन ह्याविट्याटको सहयोगमा, जिल्ला शिक्षा कार्यालयको आयोजनामा सञ्चालित तालिमको सहजीकरण ग्लोबल स्यानिटेसन फण्ड यू एन ह्याविट्याटका जिल्ला संयोजक विष्णु दवाडी, इकार्डस्का गोपाल घिमिरे र कृष्ण जिसी, प्रागका प्रेम नारायण गैरे, नेष्टका यूवराज पाण्डे र स्रोत ब्यक्ति एवं जिशिकाका प्रतिनिधी चोपलाल बेलबासे लगायतकाले गर्नु भएको थियो ।
तालिममा ठाडाको वडा नं ५ कालिका प्रा विमा वनको जग्गा मुद्धा परेको कारणले चर्पी बन्न नसकेको, प्रभाकर मा वि को शौचालय मापदण्ड अनुसार नभएको, बुद्ध निमावि सिमलपानीको शौचालय पानीको अभावले बन्द रहेको, गौरा माविका विद्यालय व्यवस्थापन समितिको अध्यक्षको घरमै चर्पी नभएको, केहीमा आर्थिक अभाव, केहीमा जग्गाको अभाव, हेलचक्राई, अगुवाई गर्नेहरु कम सक्रिय हुनु, गाविस सचिवको छिटो छिटो सरुवा हुनु, सहजीकरणको अभाव हुनु, राजनीतिक दलहरु अभियानमा सशक्त रुपमा लाग्न नसक्नु जस्ता समस्याहरु औल्याइएका थिए । खुल्ला दिसामुक्त अबस्था हासिल गर्नका लागि विद्यालयले आफ्नो सेवा क्षेत्र भित्र विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । त्यसै गरि चर्पी नबनेका र भएर पनि प्रयोगमा नल्याइएका चर्पीहरुको सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
Binu Dwadi in Arghakhanchi contributed to this report