वैशाख २९ । नाइजेरियामा इस्लामिक उग्रवादी बोकोहरामबाट अपहरित दुई सय बालिकालाई कहाँ छन् भन्ने सूचना प्राप्त भएको बोर्नो राज्यका गभर्नरले जानकारी दिएका छन् । गभर्नर कासिम शेट्टिमाले आफूलाई प्राप्त सूचनाको सैनिकबाट पुष्टि गराउने काम भैरहेको बताए ।
ती बालिकाहरुलाई देशको सीमा कटाएर चाँद वा क्यामरुन पुर्याएको भन्नेमा आफूलाई विश्वास नलागेको गभर्नर शेट्टिमाको भनाइ छ । यसैबीच, नाइजेरियाली राष्ट्रपति गूडलक जोनाथनले अपहरित बालिकाको उद्दारका लागि इजरायलबाट प्रतिआतंकवाद टोली आउन लागेको जानकारी दिए ।
यसअघि फ्रान्सेली राष्ट्रपति फ्रान्सकोइस होल्याण्डले बोकोहरामका बारेमा निर्णय लिन नाइजेरियाका छिमेकी देशहरुसँग सम्मेलन गर्न राष्ट्रपति जोनाथनलाई सल्लाह दिएका थिए । यदि ती देशहरु सहमत भएमा यस्तो सम्मेलन आगामी शनिवार हुनसक्ने होल्याण्डको भनाइ छ ।
सुरक्षा सम्मेलनमा छिमेकी मुलुकहरु नाइजर, चाँद र क्यामरुनलाई बोलाइन सक्ने छ । सम्मेलनमा अमेरिका, बेलायत, युरोपियन युनियन पनि सामेल हुने छन् । अमेरिका, बेलायत र फ्रान्सले त यसअघिनै नाजेरिया सरकारलाई प्राविधिक सहयोग उपलब्ध गराइसकेका छन् । AGENCIES