साता लामो चीन भ्रमणपछि एमाओवादी बाबुराम भट्टराईद्धारा विदेश भ्रमणमा नजाने घोषणा

काठमाडौं, वैशाख ३० – एमाओवादी नेता बाबुराम भट्टराईले संविधान निर्माण नभएसम्म विदेश भ्रमणमा नजाने घोषणा गरेका छन् ।
भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेका अनुसार मंगलबारदेखि नै लागु हुने गरी भट्टराईले विदेश नजाने घोषणा गरेका हुन् । संविधानसभाबाट संविधान निर्माण नगर्दासम्म नेता बाबुराम भट्टराई आजदेखि लागु हुने गरी कुनै पनि विदेश भ्रमणमा नजाने निर्णय गर्नुभएको छ, पाण्डेले पठाएको एसएमएसमा लेखिएको छ ।
भट्टराई साता लामो निजी भ्रमणपछि मंगलबार नै चीनबाट स्वदेश फर्केका छन् । उनी संविधानसभाको महत्त्वपूर्ण संवैधानिक तथा राजनीतिक सम्वाद तथा सहमति समितिको सभापति हुन् ।
ठूलो संख्यामा संविधानसभा सदस्यहरु विदेश भ्रमण गएपछि संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सार्वजनिक चिन्ता व्यक्त गरिरहेका बेला भट्टराईले विदेश भ्रमण नगर्ने घोषणा गरेका हुन् । उनले विदेशस्थित राजदूतहरुलाई बोलाएरै सभासदलाई भ्रमण निम्तो नदिन आग्रह गर्ने तयारी गरेका छन् ।
 EKANTIPUR
प्रकाशित मिति: २०७१ वैशाख ३०