विश्वकप फुटबलका लागि करोडौं डलर खर्चेको भन्दै ब्राजिलमा सरकार विरोधी प्रदर्शन

जेष्ठ २ । विश्वकप फुटबलका लागि करोडौं डलर खर्चेको भन्दै ब्राजिलमा सरकार विरोधी प्रदर्शन चर्केको छ । ब्राजिलको राजधानी ब्रासिलिया र रियो दि जेनेरियो सहरमा एकै साथ प्रदर्शन चर्काइएको हो ।
आगामी जुन १२ बाट हुने विश्वकपको विरोधमा रहेकाहरुले टायर बालेर सडक अवरुद्ध गर्नुका साथै सरकारी कार्यालयहरु आगजनी गरेका छन् । देशमा बढ्दो भ्रष्टाचार र विश्वकप फुटबल आयोजनाका लागि गरिएको उच्चखर्चको विरोध गर्दै उनीहरुले केही महिनादेखि प्रदर्शन जारी राखेका छन् ।
लाखौं मानिस सहभागी प्रदर्शनका कारण ब्राजिलको जनजीवन अस्तब्यस्त बनेको छ । बेलगाम भ्रष्टाचार, कमजोर स्वास्थ्य सेवा र महंगो जीवनस्तरका कारण जनतामा निराशा बढ्दा प्रदर्शनमा सहभागी थपिँदै गएका छन् ।
विश्वकप फुटबल नजिकिने तथा प्रदर्शन चर्कने हुँदा सरकार भने अप्ठेरोमा परेको छ । विरोधका कारण विश्वकपमा असर पर्नसक्ने र यसले देशकै छवि धुमिल हुने भन्दै प्रदर्शन रोक्न सरकारले आग्रह गरेको छ । (एजेन्सी) –