काठमाडौं, जेष्ठ ३ – प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले भारतमा हालै सम्पन्न निर्वाचनमा भारतीय जनता पार्टी (बीजेपी) ले स्पष्ट बहुमत प्राप्त गरेकामा उक्त पार्टीका अध्यक्ष राजनाथ सिंहलाई बधाई तथा शुभकामना सन्देश पठाएका छन् ।
कोइरालाले बीजेपी विजयी भएकामा आफ्नो पार्टी, नेपाली जनता र नेपाल सरकारका तर्फबाट पार्टी अध्यक्ष सिंह र प्रधानमन्त्रीका उम्मेदवार नेता नरेन्द्र मोदीलाई बधाइ दिंदै सफलताको शुभकामना व्यक्त गरेका छन् ।
कोइरालाले शनिबार राति पठाएको बधाई तथा शुभकामना सन्देशमा नेपाल भारत सदियौं लामो सुमधुर सम्बन्ध भएका एकै खालका सामाजिक र सांस्कृतिक मूल्यका साथै समान विकासका चाहना भएका मित्र राष्ट्र भएको उल्लेख गरेका छन् ।
उनले नेपाल-भारत सम्बन्धका असीमित सम्भावनालाई आपसी हितका लागि उपयोग गर्न आफू प्रतीक्षारत रहेको उल्लेख गरेका छन् । कोइरालाले अध्यक्ष सिंहको व्यक्तिगत सुख स्वास्थ्यसहित समस्त भारतीय जनताको सुख, समृद्धि र प्रगतिको समेत कामना गरेका छन् । EKANTIPUR