गर्मी बढेपछि मध्य तराईको जनजीवन कष्टकर, अत्यधिक गर्मीकै कारण मृत्यु हुनेको सन्ख्या बढदै

कपिलवस्तु, जेष्ठ ५ – गर्मी बढेपछि मध्य तराईको जनजीवन कष्टकर बनेको छ । दैनिक कामकाज ठप्प भएको छ भने स्वास्थ्य समस्या बढेको छ । दिउँसो चल्ने तातो हावाले सर्वसाधारण घरभित्रै खुम्चिन बाध्य छन् ।
गर्मीका कारण २ दिनअघि कपिलवस्तु ७ बर्दहवाका ६० वर्षीय झिनमुन रैदासको मृत्यु भएको छ । हाटमा तरकारी खरिद गरिरहेका बेला उनी ढलेका थिए । कुनै रोग नलागेका उनको अत्यधिक गर्मीकै कारण मृत्यु भएको परिवारले जनाएको छ ।
एक साताअघि अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस थियो । अहिले बढेर ४२ डिग्री नाघेको रामनगरस्थित जल तथा मौसम विज्ञान विभाग एकाइले जनाएको छ । न्यूनतम तापक्रम पनि बढेर २४ डिग्री सेल्सियस पुगेको छ ।
अस्पतालमा गर्मीका बिरामी बढेका छन् । तौलिहवास्थित जिल्ला अस्पतालमा दैनिक १ सयभन्दा बढी बिरामी आउने गरेको मेडिकल सुपरिटेन्डेन्ट डा. अनन्त शर्माले बताए । रूघाखोकी, ज्वरो, आउँ, टाइफाइड र छालाका बिरामी बढेका छन् । जिल्लाका स्वास्थ्यचौकी र उपस्वास्थ्यचौकीमा बिरामी आउने दर ३५ प्रतिशतले बढेको छ ।
भरतपुर विमानस्थलका अनुसार आइतबारसम्म तापक्रम ४० डिग्री सेल्सियस हाराहारी पुगेको छ । तातो हावाका कारण सडकमा चहलपहल घटेको छ । अस्पतालहरूमा झाडापखालाका बिरामी बढेका छन् । ‘अघिल्लो वर्ष श्वासप्रश्वासका बिरामी बढी देखिएका थिए, अहिले त्यसको स्थान झाडापखालाका बिरामीले लिएका छन्,’ भरतपुर अस्पतालका चिकित्सक भोजराज अधिकारीले भने, ‘झाडापखालाबाट सबै उमेरका बिरामी प्रभावित देखिन्छन् ।’ जटिल प्रकृतिका बिरामी भने फेला नपरेको उनले बताए ।
सर्लाहीमा २ छोरालाई खोकी लागेपछि जँचाउन पुगेका सुदर्शन रिजाललाई धूलोबाट जोगाउन चिकित्सकले सल्लाह दिए । गर्मी र सुख्खाले धुलाम्ये बनेको तराईमा त्यसबाट असम्भवजस्तै छ । सडक छेउ घर भएकाले धूलोबाट बचाउने उपाय नभएको रिजालले बताए । २ सातायता निरन्तर गर्मी बढिरहेको छ । पानी नपरेकाले रोग फैलिन थालेको स्वास्थ्यकर्मीको भनाइ छ । मौसमी ज्वरो, झाडापखाला र खोकीका बिरामी बढेका छन् । अस्पताल र निजी क्लिनिकमा बिरामीको भीड बढेको छ । गैरऔषधालयका चिकित्सक देवेन्द्र झाले गर्मीको प्रभाव बालबालिकामा बढी देखिएको बताए । ‘चर्काे गर्मी र धूलोका कारण बिरामी बढेका हुन्,’ उनले भने, ‘मलंगवा-नवलपुर सडक खण्ड आसपास धूलोले धेरै बिरामी परेका छन् ।’ कुनै रोगले महामारीको रूप नलिए पनि सम्भावना बढेको जनस्वास्थ्य निरीक्षक प्रभाकर झाले बताए । आइतबार सर्लाहीको तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ ।
नवलपरासीमा पनि अस्पतालमा बिरामीको चाप बढेको छ । शरीरमा पानीको मात्रा कम भएर मृगौला र पिसाबको संक्रमण बढ्नुका साथै झाडापखालाका बिरामीसमेत बढेको जिल्ला पृथ्वीचन्द अस्पतालले जनाएको छ । आइतबारमात्र १ सय ४ बिरामी आएको मेडिकल सुपरिटेन्डेन्ट डा. नुरुल होदाले जनाए । दिउँसोको तापक्रम ४२ डिग्री सेल्सियस हुने गरेको छ । गर्मीका कारण सरकारी कार्यालयमा सेवाग्राही र बजारमा चहलपहल कम भएको छ । लोडसेडिङका बेला घरभित्र बस्न गाह्रो हुने रामग्राम ३ का मातृका पाण्डेले बताए । वृद्धवृद्धा र बालबालिका बढी प्रभावित छन् ।
पर्सामा एक सातायता बिहानैदेखि तातो हावा चल्ने गर्छ । पानी नपरेकाले तापक्रम बढ्दो छ । जिल्लाको तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ । गर्मीले सर्वसाधारणको दैनिकी प्रभावित भएको छ । कामकाजी र विद्यार्थीलाई घरबाट निस्कनु पर्दा सास्ती भएको छ । नारायणी उपक्षेत्रीय अस्पतालमा दैनिक १ सय हाराहारीमा झाडापखालाका बिरामी आउने गरेका छन् । आकस्मिक कक्षका चिकित्सक अशोक कुशवाहाका अनुसार माछा र बासी खाना खानेहरूमा पखालाको समस्या देखिएको छ । अधिकांशले १/२ दिनअघि घर वा भोजभतेरमा माछा खाएको बताउँछन्, उनले भने, ‘गर्मीमा बासी माछाको सेवनले तत्काल पखाला चलाउँछ, त्यसबाट जोगिन खानपानमा सावधानी आवश्यक छ ।’
मकवानपुरमा गर्मीको प्रभाव स्वास्थ्य, खानेपानी र बालीनालीमा परेको छ । हेटौंडामा दिउँसो ४० डिग्री तापक्रम हुन्छ । आउँ र झाडापखालाका बिरामी बढेका छन् । हेटौंडा अस्पतालका डा. हरिबहादुर खड्काका अनुसार बहिरंग सेवामा दैनिक ३० भन्दा बढी आउँका बिरामी आउने गरेका
छन् । १/२ जना जन्डिस पीडित फेला परेको खड्काले बताए । मुहानहरू सुकेकाले सुगमदेखि दुर्गम गाउँका बासिन्दालाई पिउने पानीको समस्या छ ।
रौतहटमा गर्मीले सरकारी कार्यालयमा आउने सेवाग्राही मर्कामा परेका छन् । बजारमा चहलपहल छैन । मालपोत, प्रशासन, नापी, जिविसलगायत कार्यालयमा भीड पातलिएको छ । आइतबार ४२ डिग्री तापक्रम रहेको जिल्ला सिँचाइ कार्यालयले जनाएको छ । चिकित्सक कौशर आलमका अनुसार झाडापखालाका बिरामी बढेका छन् । अधिकांश विद्यालयले बिहान पठनपाठन गराइरहेका छन् । 
Source > EKANTIPUR