काठमाडौं, जेष्ठ ७ । नेपाली कांग्रेस र एमालेका सभासदहरुले १८ वर्ष पुगेका नागरिकलाई अनिवार्य सैन्य तालिम दिने व्यवस्था गर्नुपर्ने भनी आएको प्रस्तावको विरोध गरेका छन् । उनीहरुले युवाहरुलाई सैन्य तालिम नभइ शिक्षा र रोजगारका लागि अवसर सिजना गर्नुपर्नेमा समेत जोड दिएका छन् ।
आज संविधानसभामा, अभिलेख तथा निक्र्योल समितिले तयार पारेको राष्ट्रिय हित संरक्षण समितिको प्रतिवेदनमा रहेका असहमतिको निक्र्योल सम्बन्धी प्रतिवेदनमाथिको छलफलमा कांग्रेस र एमालेका सभासदहरुले सैन्य तालिम दिंदैमा राष्ट्रियता बलियो नहुने बताएका हुन् ।
एकीकृत माओवादी र नेपाल मजदुर किसान पार्टीले १८ वर्ष उमेर पुगेकालाई अनिवार्य रुपमा सैन्य तालिम दिनुपर्ने प्रस्ताव गरेपछि यसबारे संविधानसभामा छलफल भएको हो । छलफलमा भाग लिंदै कांग्रेस, एमालेका सभासद्हरुले युवाहरुलाई स्वस्थ राख्न सैन्य तालिमको साटो खेलकुद र योगा सिकाउनु पर्ने धारणा राखेका थिए ।
बैठकमा कांग्रेस सभासद रामकृष्ण यादवले हतियारले नभइ शिक्षाले मात्रै देशको रक्षा गर्न सक्ने भएकोले जनतालाई शिक्षित बनाउनुपर्ने बताए ।
यस्तै, कांग्रेस सभासद नरभान कामीले सैन्य शक्तिले भन्दा विवेकको बल र शिक्षाले मात्र देशलाई सही बाटो देखाउन सक्ने तर्क गरे ।
नेकपा एमालेका सभासद अफिलाल ओखेडाले अहिले भइरहेको सैन्य शक्तिलाई समेत विकास निर्माणमा लगाउन पर्ने अवस्थामा युवाहरुलाई तालिमको जरुरी नहुने बताए ।
एमालेकै सभासद मोहन बानियाँले सैन्य तालिम दिदैमा युवा शक्तिको सही उपयोग हुन नसक्ने उल्लेख गरे ।
तर, संविधानसभा बैठकमा आफ्नो धारणा राख्दै एकीकृत माओवादीका सभासद अग्नि सापकोटाले जनतामा फौजी चेतना जरुरी रहेको भन्दै युवाहरुलाई सैन्य तालिम दिएमा शान्ति सुरक्षाको अवस्था सुदृढ हुने तर्क गरे ।
यस्तै, एमाओवादीकै सभासद निशाकुमारी साहले महिलाहरुलाई आत्मरक्षाका लागि सैन्य तालिम दिनुपर्ने धारणा राखिन् ।
राष्ट्रिय जनमोर्चाकी सभासद दुर्गा पौडेलले राज्यले आवश्यक ठानेमा प्रत्येक युवालाई सैन्य तालिम दिनसक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । IMAGEKHABAR