जेष्ठ ७ । भारतमा दिल्लीस्थित पटियाला हाउस अदालतले मानहानीको आरोपमा आम आदमी पार्टीका नेता अरविन्द केजरीवाललाई जेल पठाइएको छ । भारतीय जनता पार्टीका पूर्व अध्यक्ष नितिन गडकरीले दायर गरेको मानहानी सम्बन्धी मुद्दामा अदालतले केजरीवालसँग १० हजारको जमानत मागेको थियो ।
तर, केजरीवालले जमानत तिर्नुका सट्टा जेल जाने बताएपछि उनलाई दिल्लीस्थित तिहाड जेल पठाइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनी पर्सीसम्म जेलमा रहने छन् भने शुक्रबार उनको मुद्दामा अर्को सुनुवाइ हुने छ ।
भ्रष्टाचार विरोधी आन्दोलनका कारण छोटो समयमै चर्चामा आएर केजरीवाल ४९ दिनसम्म दिल्लीका मुख्यमन्त्री समेत बनेका थिए । लोकसभा चुनावमा भने केजरीवाल स्वयं र उनको पार्टीले लज्जास्पद हार व्यहोरेको छ । AGENCIES