भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहणमा भाग लिन प्रधानमन्त्री सुशील कोइराला भारत जाने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहणमा भाग लिन प्रधानमन्त्री सुशील कोइराला आगामी सोमबार भारत जाने भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भारत भ्रमणलाई स्वीकृत गरेको हो। कोइरालाको भ्रमण टोलीमा कति सदस्य रहने खुलाइएको छैन। 
मोदीले मे २६ मा प्रधानमन्त्रीको सपथ लिने कार्यक्रम तय भएको छ।
मोदीको शपथग्रहणमा सार्क राष्ट्रका सबै सरकार प्रमुखहरुलाई निम्ता गरिएको थियो। श्रीलंकाका राष्ट्रपति महिन्दा राजापक्षे मोदीको शपथमा आउने भएका छन्।  
पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले भने आउने/नआउने टुंगो गरिसकेका छैनन्। यसअघि नवाज सरिफको शपथग्रहणमा भारतीय प्रधानमन्त्री मनमोहन सिंहलाई बोलाइए पनि उनी सहभागी भएनन्। सरिफको शपथमा भारतीय राजदूत सहभागी भएका थिए। 
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद मोदीको शपथग्रहणका बेला सोमबार जापान जाने भएकाले सभामुख सिरिपक्नषे श्रमिन चौधरी भारत आउने भएका छन्। मालदिभ्स, भुटान र अफगानिस्तानका सरकार प्रमुख पनि मोदीको शपथमा आउने भएका छन्। SETOPATI