ताप्लेजुङ, जेष्ठ ८ । विश्वकै तेस्रो शिखर ताप्लेजुङमा रहेको कञ्चनजंघा हिमाल आरोहणका लागि गएका तीन जना आरोहीको मृत्यु भएको छ । ८ हजार ५ सय ८६ मिटर उचाईमा रहेको कञ्चनजंघा हिमाल आरोहणका लागि गएका ७ जनामध्ये तीन जना महिलाहरुको मंगलबार राति नै मृत्यु भएपनि आज मात्र शव भेटिएको हो ।
मृत्यु हुनेमा सङखुवासभा ताम्कु-५ की २४ वर्षीया तेम्बा शेर्पा र २८ वर्षीया दावा शेर्पा र भारत कलकत्ताकी ३५ वर्षीया चन्द्रा गायनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
संखुवासभाकै ङतासी शेर्पा र फुर्तेम्बा शेर्पा सकुशल रहेको प्रहरी नायव उपरीक्षक मेघराज कँडेलले जानकारी दिए । अर्का एक भारतीय र एक नेपाली नागरिक पनि सकुशल रहेको खबर आए पनि उनीहरुकोबारे थप पुष्टि हुन सकेको छैन ।
ताप्लेजुङबाट गत ३ गते आरोहणका लागि हिंडेका उनीहरुको मौसम प्रतिकूल भएपछि फर्कने क्रममा हिमपात भएर मृत्यु भएको हो । चौथो क्याम्पबाट पाँचौ क्याम्पमा जाने क्रममा मौसम प्रतिकुल भएको र पुनः चौथो क्याम्पमा फर्कने क्रममा हिमपात हुँदा तीन जना महिलाहरुको मृत्यु भएको हो ।
उनीहरु सेभेन समिट ट्रेकरबाट आरोहणका लागि गएको बताइएको छ । शव निकाल्नका लागि हेलिकप्टर परिचालन गरिएपनि मौसम प्रतिकुल भएका कारण निकाल्न कठिनाइ भैरहेको बताइएको छ । IMAGEKHABAR