रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको राष्ट्रपतीय चुनावको नतिजालाई सम्मान गर्ने

जेष्ठ १० । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको राष्ट्रपतीय चुनावको नतिजालाई सम्मान गर्ने बताएका छन् । सेन्ट पिटर्सवर्गमा बोल्दै रुसी राष्ट्रपति पुटिनले युक्रेनमा भोलिल हुने चुनावपछि राष्ट्रपतिमा जो निर्वाचित भएपनि उसँग काम गर्न तयार रहेको बताए ।


पुटिनले युक्रेनको चुनावी नतिजालाई स्पष्ट रुपमा स्वीकार गर्ने बताएको यो पहिलो पटक हो ।


यता, पूर्वी युक्रेनका डोनेत्स्क र लुकान्स्क क्षेत्रमा रुसी पृथकतावादीहरुको बढ्दो प्रभावका कारण त्यहाँ चुनाव बिथोलिने सम्भावना रहेको बीबीसीले जनाएको छ । केही पृथकतावादीहरुले मतदान गर्नेहरु आफ्नो निशानमा पर्ने चेतावनी दिएका छन् ।


बिहीबार मात्र पृथकतावादीहरुको कारबाहीमा १४ जना युक्रेनी सेना मारिएका थिए । हिजो पनि पृर्वी क्षेत्रमा भीषण भिडन्त भएका खबरहरु आएका छन् ।


भिक्टर यानोकोभिजलाई युक्रेनी संसदले राष्ट्रपतिबाट अपदस्थ गरेपछि भोलिका लागि चुनावी तिथि घोषणा गरिएको थियो । युक्रेनको स्वायत्त क्षेत्र क्राइमिया रुसले आफूमा विलय गराएपछि युक्रेन राजनीतिक संकटमा फसेको छ । (एजेन्सी)