एमाओवादीद्धारा असार ८ गते हुने उपनिर्वाचको लागि उम्मेदवारको घोषणा, नेतृत्वको लागि भोलि निर्वाचन, भट्टराई पक्ष सहभागि नहुने

काठमाडौं – एमाओवादीले संविधानसभा उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। 
असार ८ गते हुने उपनिर्वाचको लागि काठमाडौं २ मा लिलामणी पोखरेल, चितवन ४ मा खुशिराम पाख्रिन, कैलाली ६ मा रामसमझ राना र वर्दिया १ मा भुवन चौधरीलाई आज वसेको केन्द्रीय समिति बैठकले उम्मेदवार बनाएको हो।
नेतृत्वको लागि भोलि निर्वाचन, भट्टराई पक्ष सहभागि नहुने
एमाओवादीमा नेतृत्व चयनको लागि आइतबार १२ बजे देखि निर्वाचन हुने भएको छ। आज वसेको कन्द्रीय समिति बैठकले भोलि निर्वाचन गर्ने निर्णय गरेको हो। निर्वाचनको लागि नन्द कुमार प्रसाइको नेतृत्वमा ३ सदस्यीय निर्वाचन समिति बनाएको छ।
भोलि निर्वाचन हुने भएता पनि वरिष्ठ नेता बाबुराम भट्टराई पक्ष भने निर्वाचनमा सहभागि नहुने भएको छ। भट्टराई पक्षिय नेता देवेन्द्र पौडेलले आफुहरु निर्वाचनमा सहभागि नहुने बताए। ‘हामी केन्द्रीय सदस्य मात्र बस्छौं’ उनले भने ‘निर्वाचनमा सहभागि हुँदैनौं।’
केन्द्रीय समिति बैठकले विधान संसोधन गर्दै बरिष्ठ नेताको ब्यवस्था गरेको छ। सबै केन्द्रीय सदस्य पोलिटव्युरोको उम्मेदवार हुन सक्ने, सबै पोलिटब्युरो सदस्य स्थायी समितिको लागि र स्थायी समिति सदस्य पदाधिकारीको लागि उम्मेदवार हुने सक्ने केन्द्रीय समितिले निर्णय गरेको छ।
५१ सदस्यीय पोलिटब्युरोको लागि पहिलो निर्वाचन हुने र त्यसपछि १७ सदस्यीय स्थायी कमिटीको निर्वाचन गर्ने कार्यक्रम छ। स्थायी कमिटीले ९ सदस्यीय पदाधिकारी छान्ने छ। जसमा अध्यक्ष, २ उपाध्यक्ष, महासचिव, ३ सचिव र कोषाध्यक्ष रहने छन् भने १ जना बरिष्ठ नेता रहने छन्। NAGARIKNEWS