काठमाडौं- आगामी असार ८ गते हुने संविधानसभा उपनिर्वाचनको लागि निर्वाचन आयोगले चार निर्वाचन क्षेत्रमा १३७ मतदान स्थल र ३२४ मतदान केन्द्र तोकेको छ।
आयोगले यस अघिनै चारवटै निर्वाचन क्षेत्रमा विद्युतीय यन्त्रबाट मतदान गराउने निर्णय गरिसकेको छ।
निर्वाचनमा खटिने कर्मचारीका लागि आवश्यक तालिम प्रदान गर्ने कार्यलाई अगाडि बढाएको आयोगले आज गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्ता निलकण्ठ उप्रेतिले जानकारी दिए। निर्वाचन आयोगले लैङ्गिक विषयलाई उच्च प्राथमिकता दिई सोही अनुरुप नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै सम्मेलनमा जानकारी दिइयो। उपनिर्वाचन हुने चारवटा निर्वाचन क्षेत्रमा आयोगले मतदान केन्द्रमा कर्मचारी खटाउँदा उपलब्ध भएसम्म ५० प्रतिशत महिला कर्मचारी खटाउने र समावेशी सिद्धान्तलाई ध्यान दिने नीति लिएको सम्मेलनमा उप्रेतिले बताए। उपनिर्वाचनमा जम्मा ३ हजार ५६४ जना विभिन्न तहका कर्मचारी तथा स्वयम्सेवक खट्ने भएका छन्।
विद्युतीय यन्त्रबाट मतदान हुने भएकाले यस विषयमा जानकारी दिन सञ्चारकर्मीलाई अभिमुखीकरण कार्यक्रम राखिएको आयोगले जनाएको छ। NAGARIKNEWS