ताप्लेजुङ, जेष्ठ ११ । दोस्रो संविधानसभाको निर्वाचन अघि पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाको माग गर्दै संघिय लिम्वुवान राज्य परिषदले आज पूर्वका नौ जिल्लामा बन्दको आह्वान गरेको छ । बन्दको कारण पूर्वको जनजिवन विहानै देखि प्रभावित बनेको छ ।
वन्दले ताप्लेजुङ सहित पाँचथर, ईलाम, तेह्रथुम, संखुवासभा, झापा, धनकुटा, मोरङ र सुनसरीबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधान चल्न सकेका छैनन् भने, बजार, कलकारखाना, उद्योगधन्दा र विद्यालय बन्द रहेका छन् ।
एकीकृत माओवादी उम्मेदवार सञ्चपाल मादेनलाई आक्रमण गरेको अभियोगमा पक्राउ परेका संघीय बिद्यार्थी युनियनका ताप्लेजुङका उपाध्यक्ष रक्की थेबे, अन्य कार्यकर्ताहरु सागर पन्दाक, बिचिन्द्र माबो, धनबहादुर मादेन र बिट्चन आङबोहाङलाई अदालतको आदेसमा पुर्पक्षका लागि कारागारमा राखिएको छ ।
झुटो आरोपमा आफ्ना कार्यकर्तालाई ताप्लेजुङको जेलमा वन्दि बनाइएको भन्दै परिषदले पुर्वमा विभिन्न आन्दोलन गर्दै आएको छ । परिषदले ४ गते ताप्लेजुङ बन्द गरेको थियो भने ७ गते मेचि राजमार्ग बन्द गरेको थियो । IMAGEKHABAR