काठमाडौं, जेष्ठ ११ । नेपालमा नयाँ लागू औषध लिसर्जिक एसिड डाइथे लेमाइड (एल.एस.डी) प्रयोग हुन थालेको पाइएको छ । आज प्रहरीले एलएसडीसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेपछि नेपालमा यसको कारोवार हुने गरेको खुलेको हो ।
लागु औषध नियन्त्रण ब्यूरोले काठमाडौको लाजिम्पाट र बसन्तपुरबाट पक्राउ गरेका जर्मन नागरिक फ्लोरियन जोहनेस भ्यालेन र युक्रेनका नागरिक बालासोभा एनास्टासियाबाट एलएसडी बरामद भएको जनाएको छ ।
भ्यालेनलाई एलएसडी रहेको १ सय २९ पिस स्टिकर सहित र एनास्टासियालाई ८४ पिस स्टिकर सहित पक्राउ गरिएको हो । भ्यालेनले गोरखाका सुरेश गान्धारीबाट एलएसडी खरिद गरेको वयान दिएका छन् ।
प्रहरीले आरोपी धान्धारीलाई पनि १७ ग्राम चरेससहित लाजिम्पाटबाट पक्राउ गरेको छ । यसैबीच, महानगरीय प्रहरी अपराध महाशाखाले नशालु पदार्थ खुवाई अचेत पारी चोरी कार्यमा संलग्न सोलुखुम्बुका निरु शेर्पालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
शेर्पा लगायतले दार्चुलाका प्रेमसिंह बुढाथोकीलाई जुसमा नशालु पदार्थ सेवन गराई आठ लाख रुपैया चोरी गरेको प्रहरीले जनाएको छ । चोरीमा संलग्न दुई जना भने फरार छन् । IMAGEKHABAR