काठमाडौं, जेष्ठ १२ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जुँगाको लडाइँ छाडेर सबै कम्युनिष्टबीच पार्टी एकता गर्नुपर्ने बताएका छन् । १२औं कृष्णसेन इच्छुक स्मृति दिवसका सन्दर्भमा आज राजधानीमा गरिएको कार्यक्रममा दाहालले नेता डा. बाबुराम भट्टराई र आफ्नो जुँगा भएकाले कहिलेकाँहि जुँगाको लडाइँ परेपनि किरणजीको जुँगा नभएकाले उनीसँग जुँगे लडाइँ नहुने भन्दै पार्टी एकताका लागि फकाए ।
क्रान्तिकारी शक्तिको त्याग बिना एकता सम्भव नुहने भन्दै दाहालले फेरि एकचोटी क्रान्तिकारी, परीवर्तनकारी एकै ठाउँ आउनु जरुरी रहेको बताए ।
शान्ति प्रक्रियामा आएपछि कम्युनिष्ट पार्टी कमजोर भएको महसुश गरेको भन्दै दाहालले त्यसको जिम्मा आफूले लिने बताए ।
कार्यक्रममा नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच विचारको एकता आवश्यक भएको र त्यसका लागि वार्ता र संवाद भइरहेको जानकारी दिए ।
एकताका लागि नयाँ शक्तिको आवश्यकता भनिएपनि व्यवहारमा पुरानै विचार लाद्ने गरेकोमा उनको असन्तुष्टि थियो । मुक्तिको सपना देखेका सहिदको सपना, त्याग र बलिदानलाई नेतृत्वले भुल्दा अहिलेको अवस्था आएको उनले बताए ।
एमाओवादी नेता डा. बाबुराम भट्टराईले भने राजनीतिक, सांगठनिक कार्यदिशामा नयाँपन दिन सक्नुपर्ने धारणा व्यक्त गरे । उनले कम्युनिष्ट पार्टीबीचको एकताबाट मात्र परिर्वतन सम्भव भएकाले एकताको विकल्प नभएको बताए ।
तीनै जना नेताले अहिले जनपक्षीय पत्रकारिता संकटमा परेको भन्दै क्रान्तिकारी रुपान्तरणको लागि जनपक्षीय पत्रकारिता आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रदान गरिएको यस वर्षको कृष्णसेन इच्छुक स्मृति पुरस्कार श्रेष्ठले जनपक्षीय पत्रकारिता कल्याणकारी कोष सञ्चालन गर्न अध्यक्ष दाहाललाई हस्तान्तरण गरेका थिए । IMAGEKHABAR