अमेरिकी गुप्तचर एजेन्सीका पूर्व कर्मचारी एडबर्ड स्नोडेनले अन्ततः आफू जासूस भएको खुलासा

जेष्ठ १४ । अमेरिकी गुप्तचर एजेन्सी (सीआइए)का पूर्व कर्मचारी एडबर्ड स्नोडेनले अन्ततः आफू जासूस भएको खुलासा गरेका छन् । एनबीसी टिभीलाई अन्तवार्ता दिने क्रममा स्नोडेनले आफूलाई विश्लेषकको संज्ञा दिएकोमा आपत्ति जनाउँदै आफू एक पोख्त जासूस भएको दाबी गरेका हुन् ।
स्नोडेनले आफूलाई जासूसका रुपमा प्रशिक्षित गराइएको भन्दै गुप्तचर संस्था सीआइए र एनएसएको जासूसका रुपमा विदेशमा रही काम गरेको खुलाएका हुन् ।
गत वर्ष उनले वासिंटन पोष्ट र गार्डियन पत्रिकालाई एनएसएको महत्वपूर्ण दस्तावेज उपलब्ध गराएका थिए । दस्तावेजमा अमेरिकालगायत अरु मुलुकले गरेको टेलिफोन ह्याकिङलगायत विदेशी नेताहरुको जासूसी पनि संलग्न थियो ।
स्नोडेनले जासूसी सम्बन्धी सूचना चुहाएपछि विश्वभर सनसनी मच्चिएको थियो । यस प्रकरणमा सन् २०१३ मा अमेरिकाबाट भागेका स्नोडेन हाल रुसी शरणमा छन् । (एजेन्सी)