जेष्ठ १४ । अफगानिस्तानमा सैन्य अभियान अन्त्यपछि पनि आफ्ना सेनालाई केही समय राख्ने पक्षमा आफू रहेको अमेरिकी राष्ट्रपति बाराक ओबामाले बताएका छन् । पूर्व घोषणा विपरित दश हजार सैनिक अझै अफगानिस्तानमा राख्ने प्रस्ताव ओबामाले गरेका हुन् ।
अफगानिस्तानको आकस्मिक भ्रमण गर्दै राष्ट्रपति बाराक ओबामाले अफगान सैनिकलाई प्रशिक्षण दिन आफ्ना दश हजार सैनिक केही वर्ष राख्न प्रस्ताव प्रस्ताव गरेका हुन् । अफगानिस्तानमा अझै हिंसा नियन्त्रण नभएकाले यो प्रस्ताव ल्याइएको भन्दै ओबामाले ती सैनिकले आतंकवाद विरोधी तालिम दिने बताए ।
सन् २०१४ सम्ममा आफ्ना ३२ हजार सैनिकलाई अफगानिस्तानबाट फिर्ता लगेर अभियान अन्त्यको घोषणा गर्ने तयारी अमेरिकाको थियो । प्रत्यक्ष सुरक्षामा संलग्न नरहने गरी बाँकी रहने सैनिकलाई पनि सन् २०१६ सम्ममा हटाइसक्ने निर्णय यसअघि अमेरिकाले गरेको थियो ।
वर्तमान राष्ट्रपति हमिद कारजाई यस प्रस्तावको विपक्षमा भएकाले अब बन्ने नयाँ राष्ट्रपतिले आफ्नो प्रस्ताव स्वीकार्ने विश्वास ओबामाको थियो । अफगानिस्तानमा राष्ट्रपति पदका लागि आगामी जुन १४ मा दोस्रो चरणको मतदान हुँदैछ । जसमा अब्दुल्लाह अब्दुल्लाह र असरफ गनीबीच प्रतिष्पर्धा हुँदैछ । (एजेन्सी)