जेष्ठ १५ । अमेरिकाका राष्ट्रपति बाराक ओबामाले नयाँ विदेश नीति घोषणा गरेका छन् । जसअनुसार सहयोगी देशका साथ अगाडि बढ्ने र सामूहिक कार्वाही गर्ने अमेरिकाको नयाँ नीति हुनेछ । अमेरिकाले सधै विश्वलाई नेतृत्व गर्नुपर्ने भन्दै ओबामाले यो नेतृत्व सैन्य कार्वाहीका क्रममा मात्र सीमित राख्न नहुने पनि बताए ।
न्यूयोर्कस्थिति सैन्य प्रतिष्ठानबाट दीक्षित हुनेहरुलाई सम्बोधन गर्दै उनले विगतमा गरिएका ठूला गल्तीबाट भने जोगिनुपर्ने धारणा राखे । अमेरिकी सुरक्षाका लागि सबैभन्दा बढी खतरा आतंकवादबाट रहेको भन्दै ओबामाले आतंकवादसँग लड्नका लागि पाँच अर्ब डलरको कोष बनाउने घोषणा गरे ।
यो रकम यमन, सोमालिया, लीबिया, माली लगायतका देशमा शान्ति सुव्यवस्था कायम गराउन सहयोगी राष्ट्रसँग मिलेर खर्चिने जानकारी दिए । सिरियामा चलिरहेको गृहयुद्धका सम्बन्धमा राष्ट्रपति बशार अल असदका विरोधीलाई सघाउने पनि बताए ।
अन्तर्राष्ट्रिय सहमतिका आधारमा काम गरिने भएपनि जरुरी परेमा सैन्य हस्तक्षेप पनि गरिने ओबामाको नयाँ नीति हुनेछ । ड्रोन विमान आक्रमणको विश्वस्तरमा आलोृचना भैरहेपनि यसलाई कायमै राखिने छ भने ग्वान्तानामोस्थित अमेरिकी सैन्य जेल बन्द गरिने कोशिश कायमै रहने उनले उल्लेख गरेका छन् । AGENCIES