जेष्ठ १५ । इजिप्टका पूर्व सेना प्रमुख अब्दुल फत्ताह अल सीसी अत्याधिक मतका साथ राष्ट्रपतिमा निर्वाचित भएको प्रारम्भिक नतिजाले देखाएको छ । इजिप्टको सरकारी सञ्चारमाध्यमका अनुसार मतगणना भएका केन्द्रहरुमा सीसीले ९३ प्रतिशत मत हासिल गरेका छन् ।
सीसीका एक मात्र प्रतिस्पर्धी चुनावी मैदानमा उत्रिएका थिए । प्रारम्भिक मतगणनापछि नै राजधानी कायरोमा सीसीका समर्थकहरुले विजयउत्सव मनाउन थालेका छन ।
करिब ४६ प्रतिशत मतदान भएको चुनाव विभिन्न समूहहरुले बहिष्कार गरेका थिए । सेना समर्थित अधिकारीहरुले मतदान प्रतिशत बढाउन भन्दै मतदानका लागि तेस्रो दिन पनि समय थपेका थिए ।
यद्यपि, धेरै मतदान केन्द्र रित्ता देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । गत जुलाईमा मोहोम्मद मुर्सी विरुद्धको आन्दोलन चर्किएपछि सीसीले उनलाई राष्ट्रपतिबाट अपदस्थ गरेका थिए ।
यसपछिको विरोध प्रदर्शनका क्रममा मुर्सीको मुस्लिम ब्रदरहुडका १४ सय भन्दा बढी कार्यकर्ता मारिइसकेका छन् भने १६ हजार पक्राउ परेका छन् । सयौंलाई मृत्युदण्डको सजाय सुनाइएको छ । AGENCIES