पाकिस्तानको एमक्यूएम पार्टीका नेता गिरफ्तारीपछि कराँची सहरमा हिंसा भड्किने आशंकामा उच्च सुरक्षा सतर्कता

जेष्ठ २० । बेलायतको स्वनिर्वासनमा रहँदै आएका पाकिस्तानको एमक्यूएम पार्टीका नेता अल्ताफ हुसेनलाई मनी लाउण्डरिङको आरोपमा पक्राउ गरिएको छ । ६० वर्षीय हुसेन स्वदेश फर्कंदा आफूलाई ज्यानको खतरा रहेको भन्दै सन् १९९१ देखि बेलायतमा बस्दै आएका थिए ।
हुसेनको गिरफ्तारीपछि एमक्यूएमको बलियो पकड रहेको पाकिस्तानको कराँची सहरमा हिंसा भड्किने आशंकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । कराँचीका केही भागमा गोलाबारीको आवाज समेत आएको बीबीसीले जनाएको छ ।
पाकिस्तानको सिन्ध प्रान्तमा जनजीवन त्रस्त बन्न थालेको समाचार छ । पाकिस्तानस्थित बेलायती मिसनका कार्यालयमा सुरक्षा व्यवस्था कडा बनाइएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।
पछिल्लो समय कराँचीमा राजनीति प्रेरित हिंसाका घटना बढ्दो छ । – AGENCIES