सिरियामा हालै सम्पन्न निर्वाचनमा राष्ट्रपति बसार अल असाद भारी मतान्तर पुनः निर्वाचित

जेष्ठ २२ । सिरियामा हालै सम्पन्न निर्वाचनमा राष्ट्रपति बसार अल असाद भारी मतान्तरले पुनः निर्वाचित भएका छन् । उनले कुल खसेको मतको ८८ दशमलव ७ प्रतिशत मत पाएको जनाइएको छ ।
यो जितसँगै असादलाई लगातार तेस्रो कार्यकाल सत्तामा रहने वैधानिक आधार प्राप्त भएको छ । अलकायदा सम्बद्ध लडाकु र पश्चिमा राष्ट्रहरुले समर्थन गरेका विद्रोहीहरुसँग संघर्षको सामना गर्दै आएका असादका लागि यो जित निकै महत्वपूर्ण भएको बताइएको छ ।
निर्वाचनमा असादका प्रतिद्धन्द्धीहरु हसन अल नुरीले ४ दशमलव ३ र महेर हज्जरले ३ दशमलव २ प्रतिशत मत प्राप्त गरेका छन् । यस पटकको निर्वाचन असादका परिवार भन्दा बाहिरबाट एक भन्दा बढी उम्मेदवारलाई चुनावी मैदानमा उत्रिन अनुमति दिइएको पहिलो घटना भएको बीबीसीले जनाएको छ ।
उता, विद्रोहीहरुले भने गृहयुद्धबीच गराइएको निर्वाचन अवैध भएको प्रतिक्रिया दिएका छन् । सरकारी फौजले नियन्त्रण गरेका क्षेत्रहरुमा मात्र चुनाव गराइएको जनाइएको छ । AGENCIES