जेष्ठ २३ । नाइजेरियाको आतंकबादी समूह बोको हरामले मेदुगुरी गाउँमा आक्रमण गरी ४५ जना गाउँलेको हत्या गरेका छन् । उपदेश दिने सन्देशका साथ गाउँमा प्रवेश गरेका उनीहरुले अन्धाधुन्ध प्रहार गरी गाउँलेको हत्या गरेका हुन् ।
जथाभावी आक्रमण गर्न थालेपछी केही भने भागेर छिमेकी गाउँमा गई शरण लिएका छन् । हतियार सहित गाउँ प्रवेश गरेका बोको हरामका कार्यकर्ताको आक्रमणमा मारिनेमा दुई बर्ष उमेर समूहका बालबालिकादेखि बृद्धबृद्धा समेत रहेका छन् ।
नाइजेरियालाई इस्लामिक देश घोषणाको माग गर्दै बर्षौंदेखि नाइजेरियामा आतंकबादी गतिबिधि गर्दै आएको बोको हरामको आक्रमणमा परी सयौंको ज्यान गइसकेको छ । गत दुई महिना अघि २ सय भन्दा बढी बालबालीकाको अपहरण गरी मुलुकमा बितण्डा मच्चाएको बोको हरामले पछिल्लो समय ठाउँ ठाउँमा बिस्फोट गराउनुका साथै जथाभावी आक्रमण गर्दै आएको छ ।
यता अपहरणमा परेका बालबालीकाको अवस्था अझै अज्ञात छ । बालबालीकाको अवस्थाबारे जनाकारी गराउन माग गर्दै प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुलाई प्रदर्शनमा समेत रोक लगाईएको छ । AGENCIES