पाकिस्तानमा जासूसी संस्था आइएसआइको आलोचना गरेको आरोपमा जियो टेलिभिजनलाई निलम्बन

जेष्ठ २४ । पाकिस्तानमा जासूसी संस्था आइएसआइको आलोचना गरेको आरोपमा जियो टेलिभिजनलाई निलम्बन गरिएको छ । निजी स्वामित्वको जियो टिभी पाकिस्तानमा सबैभन्दा प्रभावशाली मानिन्छ ।
इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले १५ दिनका लागि निलम्बित गर्दै जियो टिभीमाथि एक लाख डलर जरिवाना पनि तोकिएको छ । उक्त रकम नतिरेमा निलम्बनको समय अरु लम्ब्याइने बताइएको छ ।
टिभीमाथि प्रतिबन्ध लगाइएकामा जनस्तरमा सरकारको आलोचना भएको छ । यस वर्षको अप्रिलदेखि नै जासूसी संस्थाको मानहानी गरेको भन्दै जियोविरुद्ध विभिन्न कारबाहीको प्रक्रिया चलिरहेको थियो ।
कराँचीमा जियो टिभीका प्रस्तोता एवं कार्यकारी सम्पादक हामिद मीरमाथि गरिएको आक्रमणमा आइएसआइका हात भएको आरोप टिभीले लगाएपछि यो विषय विवादित हुँदै आएको थियो । आइएसआइले आरोप निराधार भन्दै खण्डन गर्दै आएको थियो । (एजेन्सी)