सरकारले नेत्री प्रधानको उपचार खर्च व्यहोर्ने

प्रधानमन्त्री सुशील कोइरालाले नेपाल कम्युनिस्ट आन्दोलनकी नेत्री एवम् वरिष्ठ राजनीतिज्ञ सहाना प्रधानको शीघ्र एवम् पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् ।  प्रधानमन्त्री कोइरालाको विशेष निर्देशनमा सरकारका निमित्त मुख्यसचिव कृष्णहरि बास्कोटा बल्खुस्थित बयोधा अस्पतालमा पुगी उक्त सन्देश व्यक्त गरेका हुन् ।
निमित्त मुख्यसचिव बास्कोटाले उनकासुपुत्र उमेश श्रेष्ठलाई भेटी नेत्री प्रधानको उपचार खर्च सरकारले व्यहोर्ने भनी प्रधानमन्त्री कोइरालाले सन्देश पठाउनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता क्षेत्रबहादुर भण्डारीले विज्ञप्ति प्रकाशन गरी जानकारी गराएका छन् ।
 
सो अवसरमा निमित्त मुख्यसचिव बास्कोटाले उनको उपचारमा संलग्न चिकित्सक डा विनोद कार्कीलाई भेटी उपचारमा कुनै कमजोरी हुन नदिन प्रधानमन्त्री कोइरालाले पठाएको सन्देशसमेत सुनाका थिए ।
 
नेत्री प्रधानलाई गत शुक्रबार स्वास्थ्यमा गम्भीर समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । प्रधानलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । उनकोे मस्तिष्कमा रगत जमेको तथा हाडजोर्नीको समस्या र फोक्सोमा समेत सङ्क्रमण रहेको अस्पतालले जनाएको छ । रासस