नाइजेरियाको उत्तरी बोर्नो राज्यबाट इस्लामिक लडाकु समूह बोको हरामद्धारा कम्तिमा २० महिलाको अपहरण

जेष्ठ २७ । नाइजेरियाको उत्तरी बोर्नो राज्यबाट इस्लामिक लडाकु समूह बोको हरामले कम्तिमा २० महिलाको अपहरण गरेका छन् । बन्दुक देखाएर ती महिलाहरुलाई जर्बजस्ती भ्यानमा राखेर अज्ञात स्थलमा लगेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
गत अप्रिल १४ मा बोको हरामले २ सय भन्दा बढी स्कुले बालिकाहरुको अपहरण गरेका चिबोक गाउँ नजिकैबाट ती महिलाहरु अपहरणमा परेका हुन् ।
बोको हरामको हिंसात्मक गतिविधि बढेपछि उत्तरी नाइजेरियामा संकटकालीन स्थितिको घोषणा गरिएको छ । बोको हरामको गतिविधि नियन्त्रण गर्न नसकेको भन्दै नाइजेरियाली सरकारको आलोचना भैरहेको छ ।
इस्लामिक राज्यको माग गर्दै सन् २००९ बाट बोको हरामले सुरु गरेको संघर्षका कारण हजारौं मारिइसकेका छन् । (एजेन्सी)