काठमाडौं, जेष्ठ २८ । प्रमुख राजनीतिक दलहरुबीच संसदको अवरोध खुलाउने सहमति भएको छ । संक्रमणकालको व्यवस्थापन गर्दै शान्ति प्रक्रियालाई टुंगाउनका लागि एकअर्कालाई सहयोग गर्ने भन्दै विगत केही दिनदेखि अवरुद्ध संसद सञ्चालन गर्ने सहमति भएको हो ।
संविधानसभा भवन नयाँ बानेश्वरमा आज बसेको प्रमुख दलहरुको बैठकमा विगतमा भएको ४ बुँदे समिति कार्यान्वयन गर्ने र संविधानसभाका कामहरुलाई हस्तक्षप नगर्ने गरी राजनीतिक समिति गठन गर्ने सहमति भएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।
उनका अनुसार उच्चस्तरीय राजनीतिक समिति नभइ राजनीतिक समिति मात्रै गठन गरिने छ भने नेतृत्वमा को रहने भन्ने टुंगो भएको छैन ।
रकमान्तर गरिएको बजेटलाई जिल्लामा संयन्त्र बनाएर अनुगमन गर्ने सहमति पनि भएको पौडेलले जानकारी दिए ।
रकमान्तर गरिएको बजेट खर्चको सबै विवरण दिन सरकार तयार भएको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले जानकारी दिए ।
सहमतिसँगै आज संसदको बैठक अघि बढाउने तयारी भइरहेको छ । वर्षे अधिवेशन सुरु भएकै दिनदेखि संसद अवरुद्ध पार्दै आएका विपक्षीहरुले सात पटकसम्म बैठक अवरुद्ध गराएका छन् । IMAGEKHABAR