सवारी दुर्घटनामा परी कुनै ब्यक्तिको ज्यान गएमा गाडी चालकको लाईसेन्स खारेज हुने भएको छ।
बुधबार मुख्यसचिवको नेतृत्वमा बसेको केन्द्रीय अनुगमन तथा मुल्याङकन समितिको बैठकले गाडी दुर्घटना गराउने चालकलाई कारवाही गर्ने ब्यवस्थासहितको नयाँ कानुन ल्याउने निर्णय गरेको हो। अब सवारीको लाइसेन्स लिनका लागि निश्चित मापदण्ड पुरा गर्नुपर्ने भएको छ।
जसअनुसार निश्चित शैक्षिक योग्यता र निश्चित उमेर समेत तोक्ने निर्णय पनि गरेको छ। यस्तै सवारी गुड्ने सडकमा छोडिने पशु चौपायाको कारण दुर्घटना भएमा त्यसको सम्पूर्ण क्षतीपूर्ती सम्बन्धित पशु धनीले तिर्नुपर्ने ब्यवस्थासमेत गर्ने निर्णय भएको छ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव शान्तराज सुवेदीका अनुसार अघिल्लो वर्षमा सवारी दुर्घटनामा १ हजार ८ सय १६ जनाको ज्यान गएको भन्दै दुर्घटना न्युनीकरण गर्न कडा कानुनी ब्यवस्था गर्ने निर्णय भएको हो। यसैगरी बैठकले राहदानी विभाग, अध्यागमन विभाग, वैदेशिक रोजगार विभागमा २४ सै घण्टा सेवा उपलब्ध गराउने निर्णयसमेत गरेको छ। SETOPATI
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७१