इराकमा इस्लामिक विद्रोहीले आक्रमण गरी दुई शहर नियन्त्रणमा लिएकामा राष्ट्रसंघ सुरक्षा परिषदद्धारा निन्दा

जेष्ठ २९ । इराकमा इस्लामिक विद्रोहीले आक्रमण गरी दुई शहर नियन्त्रणमा लिएकामा राष्ट्रसंघ सुरक्षा परिषदले निन्दा गरेको छ । इराकको दोस्रो ठूलो शहर मोसुल र टिक्रिट इस्लामिक विद्रोहीले नियन्त्रणमा लिएकोमा राष्ट्रसंघले भत्र्सना गरेको हो ।
ती शहरबाट ५ लाख सर्वसाधारण पलायन भएका छन् । त्यहाँको मानवीय अवस्था पनि अत्यन्तै जोखिममा रहेको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका महासचिव बान कि मूनले विद्रोहीको कदम नियन्त्रणका लागि इराकको हात बलियो बनाउन विश्व समुदायलाई एक हुन आह्वान गरेका छन् ।
आईएसआईएस नामक ईस्लामिक अतिवादी संगठनले ईराकलाई इस्लामिक राज्य बनाउन भन्दै आक्रमण गरेको हो । विद्रोहीको प्रतिकार नगरी लुसुक्क हतियार बिसाएर भाग्ने सरकारी सेनालाई भने कार्वाही गरिने प्रधानमन्त्री नूरी अल मलिकीले चेतावनी दिएका छन् ।
यसअघि हिजो मसुलमा आक्रमण गरेलगत्तै प्रधानमन्त्री मलिकीले विद्रोहीको प्रभाव क्षेत्रमा संकटकाल लगाउन संसदसमक्ष आग्रह गर्नु भएको थियो । सद्दाम हुसेनको गृह शहर टिक्रिटमा विद्रोहीहरु एकत्रित भएका छन् । जहाँ हिजो मात्र उनीहरुले नियन्त्रणमा लिएका थिए । विद्रोहीले शहरका सबै सुरक्षा निकायहरु र तिनका हातहतियारहरु सबै नियन्त्रणमा लिएका छन् । Agencies