पाकिस्तानको न्यायालयद्धारा पूर्व राष्ट्रपति मुसर्रफलाई विदेश जान छुट



जेष्ठ २९ । पाकिस्तानको सिन्ध प्रान्तको उच्च न्यायालयले पूर्व राष्ट्रपति परवेज मुसर्रफलाई मुलुक छोड्न लगाइएको प्रतिबन्ध हटाएको छ । मुलुक छोड्न नपाउने सरकारी दलील खारेज गर्दै न्यायालयले यस्तो आदेश दिएको हो ।


सरकारले मुसर्रफमाथि पूर्वप्रधानमन्त्री बेनेजीर भुट्टोको हत्या लगायतका मुद्दाका कारण उनलाई मुलुक छोड्न नपाउने दलील गरेको थियो । स्वनिर्वासनबाट स्वदेश फर्किएका मुसर्रफ फेरि विदेश गएमा स्वदेश नफर्कने सरकारी जिकिर छ । सिन्धको न्यायालयको यो आदेश १५ दिनभित्र लागू हुने छ ।


यसबीचमा मुसर्रफ या पाकिस्तान सरकार न्यायालयको फैसला विरुद्ध सर्वोच्च अदालतमा अपील गर्न सक्ने कानुनी प्रावधान रहेको छ । पाकिस्तानका पूर्वसैनिक शासक समेत रहेका मुुसर्रफ विरुद्ध देशद्रोह गरेको आरोपमा पनि मुद्दा चलिरहेको छ । (एजेन्सी)