म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुचीद्धारा नेपालमा लोकतन्त्र बलियो बन्दै गएको उल्लेख

काठमाडौं, जेष्ठ ३१ । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुचीले नेपालमा लोकतन्त्र बलियो बन्दै गएको बताएकी छन् । म्यानमारमा प्रजातन्त्रको लागि लड्दा नोबल शान्ति पुरस्कार समेत पाएकी सुचीले नेपालमा लोकतन्त्रलाई संस्थागत गर्न नेपाली सेनाले खेलेको भूमिका आफ्नो देशका सैनिकहरुले सिकुन् भन्ने आफूले चाहेको बताइन् ।
वीपी चिन्तन प्रतिष्ठानले प्रजातान्त्रिक समाजवादको औचित्यबारे आयोजना गरेको सम्मेलनमा प्रवचन दिंदै उनले नेपालका राजनीतिक दलहरु संवाद र सम्झौताबाट सबैलाई स्वीकार्य हुने संविधान ल्याउने तयारीमा रहेकोमा प्रशंसा समेत गरिन् ।
सुचीले लोकतन्त्र सरकार चलाउने विधि वा राजनीतिक दल मात्र नभएको र जनताका आवश्यकता र चाहना सम्बोधन गर्न नसकिए यसलाई स्थायित्व दिन नसकिने बताइन् ।
उनले समाजिक लोकतन्त्र समावेशी हुने जिकिर गर्दै राष्ट्रलाई बलियो र समुन्नत बनाउन कुनै एउटा जाति, समूह, धर्म र वर्ग विशेषको नभइ सम्पूर्ण जनताको भावनालाई बुझी त्यस्को सम्मान गर्नुपर्नेमा जोड दिइन् ।
सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले वीपीको विचारले जटिल राजनीतिक समस्याको समाधान र आर्थिक विकास गर्नसक्ने दाबी गरे । उनले म्यानमारमा सुचीको नेतृत्वमा भएको प्रजाािन्त्रक आन्दोलनप्रति ऐक्यबद्धता जनाए ।
सम्मेलनमा विभिन्न देशका प्रजातान्त्रिक अभियन्ताहरुको सहभागिता छ । IMAGEKHABAR