इराकमा इस्लामिक विद्रोहीलाई परास्त गर्न अमेरिकी सेना परिचालन नगरिने

जेष्ठ ३१ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले इराकमा इस्लामिक विद्रोहीलाई परास्त गर्न अमेरिकी सेना परिचालन नगरिने बताएका छन् । सञ्चारकर्मीसँगको कुराकानीमा ओबामाले इराकमा कस्तो रणनीति अपनाउने भन्ने सम्बन्धमा धेरै दिन लाग्न सकेपनि अमेरिकी सेना भने परिचालन नगरिने स्पष्ट पारे ।



आइएसआइएस इराकको लागि मात्र नभइ अमेरिकी स्वार्थका लागि पनि चुनौती भएको ओबामाको भनाइ थियो । इराकी नेताहरुले साम्प्रदायिक विभेदलाई थाँती राखेर गम्भीर र मिहेनेतका साथ छलफल गर्नुपर्ने ओबामाको भनाइ थियो ।



सुन्नी विद्रोहीले इराकको मोसुल र टिक्रिट सहर नियन्त्रणमा लिएपछि इराकका उच्च शिया धर्मगुरुहरुले शिया अनुयायीहरुलाई हतियार उठान आह्वान गरेका थिए ।



यस लगत्तै राजधानी बग्दादको सुरक्षाका लागि भन्दै हजारौं शिया मिलिसियामा सामेल भैसकेको बीबीसीले जनाएको छ ।



यसैबीच, इरानी राष्ट्रपति हसन रुहानीले इराकलाई सहयोग गर्न तयार रहेको बताउँदै सुन्नी इस्लामिक लडाकुहरु विरुद्धको अभियानका लागि इरानी सेना नपठाइने स्पष्ट पारेका छन् ।



सुन्नी विद्रोहीले सहरहरु नियन्त्रणमा लिएपछि ५ लाख भन्दा बढी मानिस आफ्नो थाकथलो छोड्न बाध्य भएका छन् । AGENCIES