स्वर्गीय राजा बीरेन्द्र, रानी ऐश्वर्य र उनको परिवारको नाममा ४५ हजार ४५ पाउण्ड र १० हजार नेपाली रुपैयाँ मात्र सम्पत्ति भेटियो

काठमाडौं, आषाढ १ । स्वर्गीय राजा बीरेन्द्र, रानी ऐश्वर्य र उनको परिवारको नाममा ४५ हजार ४५ पाउण्ड र १० हजार नेपाली रुपैयाँ मात्र भेटिएको नेपाल ट्रष्टले जनाएको छ । ट्रष्टले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारको नाउँमा स्वदेशमा र विदेशमा गरी ठूलो धनराशी हुनुपर्छ भन्ने अनुमान अनुसारको सम्पत्ति भेटाउन नसकिएको बताएको हो ।
ट्रष्टका कार्यकारी सचिव श्रीधर गौतमले स्वीट्जरल्याण्ड, अमेरिकालगायत विदेशका कुनै पनि बैंकमा वीरेन्द्र, ऐश्वर्य, दिपेन्द्र, निराजन र श्रुतीका नाममा खाता नभेटिएको बताए । ट्रष्टले अथक प्रयास गर्दा पनि स्वर्गीय राजा वीरेन्द्र र उनको परिवारको सम्पत्ति पत्ता लगाउन नसको भन्दै उनले सम्पत्तिको बारेमा सूचना दिनेलाई पुरस्कार दिइने बताए ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार लिज तथा भाडा आदिबाट २०६४ सालदेखि २०७१ सालको बैशाखसम्म जम्मा २४ करोड ७९ लाख २५ हजार आठ सय ४३ रुपैयाँ मात्र ट्रष्टलाई प्राप्त भएको छ ।
राजा वीरेन्द्रको परिवारका नाममा नबिल बैंकमा एक लाख ४४ हजार चार सय ७२, होटेल अन्नपूर्णमा ३० हजार सात सय २० र नेपाल औद्योगिक विकास निगममा ६ हजार छ सय ५० कित्ता शेयर भेटिएको र त्यसको लाभांस सहित सबै पैसा ट्रष्टमा जम्मा भएको पनि जानकारी दिइयो ।
त्यस्तै धादिङ जिल्लामा १५ हजार एक सय एक रोपनी, ११ आना २ पैसा १ दाम, नुवाकोटमा एक सय ७२ रोपनी, २ आना, १ दाम, काठमाडौंमा ११ हजार ३ सय २५ रोपनी, २ आना, ३ पैसा, ३ दाम तथा सिन्धुपाल्चोकमा २७ रोपनी, १३ आना १ पैसा १ दाम गरी कूल २६ हजार ६ सय २६ रोपनी १३ आना ३ पैसा ३ दाम जग्गा फेला परेको र त्यसलाई ट्रष्टमा ल्याईसकिएको पनि ट्रष्टले जनाएको छ । IMAGEKHABAR