इराकमा सुन्नी इस्लामिक लडाकुहरुले बाइजीस्थित मुलुककै ठूलो तेल प्रशोधन केन्द्रमा आक्रमण

आषाढ ४ । इराकमा सुन्नी इस्लामिक लडाकुहरुले बाइजीस्थित मुलुककै ठूलो तेल प्रशोधन केन्द्रमा आक्रमण गरेका छन् । राजधानी बग्दाद देखि २ सय १० किलोमिटर उत्तरमा रहेको उक्त प्रशोधन केन्द्रमा मोर्टार र मेसिन गनले आक्रमण गरेको   छ ।
यता, लडाकुहरुले बग्दाद बग्दाद कब्जा गर्ने त्रास बढेपछि सरकारी सेनाले नयाँ हवाई आक्रमण गरेका छन् । बग्दादबासी खाद्यपदार्थ र पानीको जोहो गरी आपतकालीनस्थितिको सामना गर्ने तयारीमा लागेका बताइएको छ । बग्दादमा विद्रोहीको आक्रमणको डर बढेपछि बजारमा किनमेल गर्नेको घुइँचो बढेको र खाद्यपदार्थको अभाव हुन थालेको बीबीसीले जनाएको छ ।
बग्दादतर्फ अगाडि बढिरहेका विद्रोहीको बाक्युबा सहरमा सरकारी सेनासँग भिडन्त भएको छ । बाक्युबा सहर बग्दादबाट ४५ मिनेटमा पुगिने ४० माइल टाढा रहेको छ । विद्रोहीहरुले बाक्युबाका अधिकांश भाग कब्जा गरिसकेको जनाइएको छ । उनीहरुले बाक्युबाको स्थानीय जेलमा आक्रमण गरी ४५ भन्दा बढीको हत्या गरेको जनाइएको छ ।
सुन्नीहरुले सहर कब्जामा लिन आक्रमण गरिरहंदा बाक्यबाबाट शिया समुदाय अन्यत्र पलायन हुने क्रम बढेको छ ।
उता, विद्रोहीको आक्रमणलाई परास्त गर्न नसकेको भन्दै प्रधानमन्त्री कार्यालयले चार उच्च सैनिक अधिकारीलाई बर्खास्त गरेको छ । प्रधानमन्त्री नुरी अल मल्लिकीले राष्ट्रिय कर्तव्य पूरा नगरेको भन्दै ती सैनिक अधिकारीलाई बर्खास्त गरेका हुन् ।
प्रधानमन्त्री मल्लिकीले छिमेकी साउदी अरेवियाप्रति कडा टिप्पणी गर्दै सुन्नी विद्रोहीलाई साथ दिएको आरोप लगाएका छन् । इराकी सेनाको संख्या २ लाख ७० हजार रहेको र उनीहरुसँग अमेरिका र बेलायतले दिएका अत्याधुनिक हतियार भए पनि विद्रोहीका अगाडि टिक्न सकेका छैनन् ।
सुन्नी विद्रोहीले सेनालाई पराजित गरी केही ठूला सहर कब्जा गरिसकेका छन् । मोसुल सहरमा ३० हजार सैनिक तैनाथ रहेकोमा विद्रोहीको आक्रमणलाई परास्त गर्न नसकी भागेपछि इराकी सेनामा आत्मविश्वासको कमी बढ्दै गएको देखिएको बीबीसीले जनाएको छ ।
प्रधानमन्त्री मल्लिकी नेतृत्वको शिया सरकारले देश गृहयुद्धको खतरनाक मोडमा पुगेको भन्दै सुन्नी नेताहरुसँग मंगलबार राष्ट्रिय एकता वार्ता गरेका थिए । अमेरिकाले इराकको बग्दादमा आफ्ना नागरिक र दूतावासको सुरक्षाका लागि भन्दै २ सय ७५ जना सेना परिचालन गरेको छ । AGENCIES