गुल्मी, प्यूठान, आषाढ ६ । गुल्मी र प्युठानमा गए राति गएको पहिरोमा परी १३ जनाको मृत्यु भएको छ । गुल्मीको अग्लुङ गाविस वडा नम्बर ८ मा पहिरोले भविलाल कुँवरको घर पुरिँदा एकै परिवारका ९ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेहरुमा घरधनी भवीलाल कुँवर, उनकी श्रीमती चेती, बुहारी सीता, नाती चेतमान, भीमे, नातिनीहरु विन्दु, हरिकला र विपना कुँवर छन् । घटनामा छोरी दुःखी विष्टको पनि मृत्यु भएको छ ।
त्यस्तै, अग्लुङ गाविसकै वडा नम्बर २ र ४ मा पनि पहिरोले ५ घर बगाएको बताइएको छ ।
उता, प्यूठानको खुंग गाउँ विकास समिति वडा नम्बर ८ खालमा गएराति पहिरोले तीन घर बगाउँदा चार जनाको मृत्यु भएको छ । अविरल वर्षापछि आएको पहिरोले स्थानीय दोमलाल गिरी, देवा भण्डारी र प्रेम गिरीको घर बगाएको हो ।
घटनामा मृत्यु हुनेमा दोमलाल गिरी, देवा भण्डारी, प्रेम गिरीका एक छोरा आयुष र एक छोरी आशिका छन् । गिरीकै घाइते श्रीमती मना गिरीको जिल्ला अस्पताल प्यूठानमा उपचार हुँदैछ ।
पहिरो ठूलो भएकाले उद्धारमा ढिलाइ भएको स्थानीयले बताएका छन् । घटनास्थलमा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि जुटेका छन् । IMAGEKHABAR