आषाढ ६ । देशमा फैलँदो हिंसा नियन्त्रणका लागि सेनाले अभियान चलाएपछि पाकिस्तानको वजरिस्तानबाट हजारौं सर्वसाधारण पलायन भएका छन् । वजरिस्तानमा आतंकवादी गतिविधि बढेपछि पाकिस्तानी सेनाले हवाई र स्थलगत कारबाही थालेको हो ।
यस क्रममा गत दुई दिनमा १ सय ६० आतंकवादी मारिएका छन् । वजरिस्तानका सीमामा बख्तरबन्द गाडीसहित तैनाथ गरिएका पाकिस्तानी सेनामाथि तालिबानी विद्रोहीले आक्रमण गर्दा केही सैनिक घाइते भएका छन् । सैनिक कारबाही थाल्नुअघि कफ्र्यु लगाई सर्वसाधारणलाई घरबाट ननिस्कन सरकारले अपील गरेको थियो ।
यद्यपि, महिला र बालबालिका असुरक्षित हुन थालेपछि सर्वसाधारण थातथलो छाडेर अन्यत्र पलायन भएका हुन् । पलायन भएकालाई पाकिस्तानको उत्तरी सहर बन्नुमा शिविर बनाइ राखिएको छ ।
तर, शिविरमा अत्यधिक गर्मी बढ्दा सर्वसाधारण खानेपानी अभाव भइ विरामी पर्न थालेका छन् । कति बालबालिकालाई सर्पले डसेको खबर पनि छ ।
केही वर्षदेखि आतंकवादी गतिविधिमा संलग्न तालिबानीसँगको वार्ताले परिणाम दिन नसकेपछि पाकिस्तानी सेना जवाफी कारबाहीमा उत्रेको हो । (एजेन्सी)