एमालेको नवौं महाधिवेशन: नेपाल र ओली पक्षबीच कुटाकुट, ३ जना घाइते

 काठमाडों, आषाढ ७ । नेकपा एमालेको नवौं महाधिवेशनको लागि आज देशभर प्रतिनिधि चयन प्रक्रिया सम्पन्न भएको छ । प्रतिनिधि चयनको क्रममा देशका विभिन्न स्थानमा नेता माधवकुमार नेपाल र केपी ओली पक्षबीच झडपसमेत भएको छ ।
काठमाडौंको कोटेश्वरस्थित काठमाडौं ट्रेडिङ सेन्टरमा सेती अञ्चल सम्पर्क मञ्चका कार्यकर्ताबीच मतदानको प्रक्रिया चलिरहेको बेला कुटाकुट भएको प्रत्यक्षदर्शी तिलक शर्माले जानकारी दिए ।
नेपाल पक्षधर निर्वाचनबाट प्रतिनिधि चयन हुनुपर्ने पक्षमा र ओली पक्षधर सहमतिका आधारमा प्रतिनिधि चयन गर्ने अडान लिएपछि विवाद बढेर कुटाकुट हुँदा ३ जना घाइते भएका थिए । विवादका कारण निर्वाचन प्रक्रिया स्थगित भएको थियो ।
त्यसैगरी, धौलागिरी अञ्चल सम्पर्क मञ्चको प्रतिनिधि चयन पनि स्थगित भएको छ ।
ताप्लेजुङ, तेह्रथुम, रसुवा र सोलुखुम्बु लगायतका जिल्लाबाट भने सर्वसम्मत् रुपमा प्रतिनिधि चयन भइसकेका छन् ।
आज १२ जिल्लाबाट झन्डै ३ सय प्रतिनिधि चयन भएका एमाले स्रोतले जनाएको छ ।
संविधानसभाको उपनिर्वाचन भएका काठमाडौं, चितवन, बर्दिया र कैलालीमा आगामी आषाढ १० गते प्रतिनिधि चयन हुनेछन् ।
त्यसैगरी, विवाद रहेका जिल्ला जुम्ला, सप्तरी र धनुषामा पनि आषाढ १० गते नै प्रतिनिधि चयन हुने भएका छन् । आषाढ १९ गतेदेखि राजधानीमा सुरु हुने महाधिवेशनमा झन्डै १ हजार ९ सय प्रतिनिधिले भाग लिनेछन् ।
एमालेमा अध्यक्षका लागि वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी ओली प्यानल नै बनाएर चुनावी मैदानमा छन् । IMAGEKHABAR