काठमाडौं क्षेत्र नम्बर दुई कांग्रेसको कब्जामा, दिपक कुईँकेल विजयी

काठमाडौं क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेद्वार दिपक कुईँकेल विजयी भएका छन। अघिल्लो संविधान सभामा पराजित नेपाली कांग्रेसकी नेतृ प्रतिमा गौतमले ल्याएको मत परिणामभन्दा कम मत ल्याएर नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठ पराजित भएका छन्। उनको यो पराजयसँगै कम्युनिस्टको किल्ला रहँदै आएको काठमाडौं क्षेत्र नम्बर दुई कांग्रेसको कब्जामा पुगेको हो। 
कुईँकेलले १४ हजार १ सय ६६ मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले १० हजार १ सय १७ मत पाए। त्यस्तै एमाओवादीका लीलामणि पोखरेलले ३ हजार ५ सय ५६ मत पाए। कृष्णगोपाल श्रेष्ठ दुई पटक भएको संविधान सभा निर्वाचनमा तीन पटक पराजित हुने नेता भएका छन्।
संविधान सभाको निर्वाचन दुईमा माधवकुमार नेपालले २० हजार ४ मत ल्याएर १२ हजार ४ सय ६९ मत ल्याएकी प्रतिमा गौतमलाई पराजित गरेका थिए। उनको यो फराकिलो अन्तर जोगाउनु त टाँढै कुरो, श्रेष्ठले पराजित गौतमले भन्दा २ हजार २ सय ९९ कम मत ल्याए। 
काठमाडौं क्षेत्र नम्बर दुईमा यो पहिलो पटक गैर कम्युनिस्ट दलले जितेको हो। यो क्षेत्रबाट मदन भण्डारी, विद्या भण्डारी, नारायण ढकाल, प्रदीप नेपाल, झक्कु सुवेदी, माधवकुमार नेपालले जित हासिल गरेका थिए। सुवेदीबाहेक सबै नेकपा एमालेका नेताहरु हुन्।
पहिलो संविधान सभाको निर्वाचनमा एमाले महासचिव माधवकुमार नेपालाई तत्काली नेकपा माओवादीका झक्कु सुवेदीले पराजित गरेका थिए। गत संविधान सभा निर्वाचनमा नेकपा एमालेका माधवकुमार नेपालले कांग्रेसकी नेतृ प्रतीमा गौतमलाई ९ हजार मतअन्तरले पराजित गरेका थिए। NAGARIKNEWS